बिर्तामोड, माघ ६ । झापा जिल्लामै सबैभन्दा धेरै संक्रमण फैलिएर कोरोनाको ‘हटस्पट’ बन्दै गएको बिर्तामोडमा नगरप्रमुख ध्रुवकुमार शिवाकोटीसहित तीनजना जनप्रतिनिधि संक्रमित भएका छन् ।

नगरप्रमुख शिवाकोटीलाई दोस्रो पटक संक्रमण पुष्टि भएको हो । यसअघि पहिलो लहरमा पनि उनी संक्रमित भएका थिए । नगर प्रमुख शिवाकोटी , वडा नं १ का एकजना वडा सदस्य र वडा नं ४ का अर्का वडा सदस्यलाई संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख तुलसी पोखरेलले बताए ।

बिर्तामोडमा कोरोनाको तेस्रो लहरमा संक्रमण अत्यधिक बढेको छ । यहाँ चार दिनमा १३१ जना संक्रमित भएका छन् । माघ २ गते ११ , ३ गते ३९ , ४ गते ४१ र हिजो ५ गते ४० जना नयाँ संक्रमित थपिएको सिनियर अहेब दीपक सापकोटाले बताए । उनले बिर्तामोड नगरपालिकाका ५ जना र प्राइभेट हस्पिटलमा काम गर्ने १० जना गरी १५ जना स्वास्थ्यकर्मी संक्रमित भएको जानकारी दिए । बिर्तामोडमा बुधबारसम्म १९४ जना सक्रिय संक्रमित छन् । कोरोना संक्रमण शुरु भएयता बिर्तामोडमा कोरोनाका कारण ६७ जनाको मृत्यु भएको छ ।

त्यसैगरी हिजो झापामा १५३ जना संक्रमित भएका छन् । मेची र कोटीहोम ल्याबमा १७८ जनालाई परीक्षण गर्दा ११२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै बाहिरको ल्याबबाट ५ जना र एन्टीजेन विधिबाट ३६ जना संक्रमित थपिएका छन् । हाल जिल्लामा ३४६ महिला र ३७३ पुरुष गरी ७१९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८ जना अस्पताल भर्ना भएका छन् भने अन्य होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्