दमक, माघ ६ ।अत्याधुनिक प्रविधि र दक्ष चिकित्सक उपलब्ध भएसंगै दमकमा रहेको एड्भान्स अस्पतालमा घुँडाको जोर्नीको प्रत्यारोपण गरिएको छ ।

अस्पतालका हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ डा.अनुप पोखरेलले प्रदेश नम्बर १ को विराटनगर र धरानपछि दमकमै पहिलोपटक घुँडाको जोर्नी प्रत्यारोपण गरेका हुन् ।
झापा कमल ६ की ६५ बर्षिया जमुनादेवी भण्डारीको एड्भान्स अस्पतालमा घुँडाको जोर्नीको सफल प्रत्यारोपण गरिएको हो । धेरै ठाउँमा उपचार गराएपनि निको नभएको घुँडाको समस्या समाधानका लागि डा. पोखरेलले जोर्नी प्रत्यारोपण गर्नुपर्ने बताएपछि भण्डारी परिवार चिन्तित बनेको थियो । केहि खर्चिलो र जटिल खालको शल्यक्रिया भएकोले पनि दमकमै उपचार हुन सक्नेमा शंका लागेपनि डा. पोखरेलको परामर्शपछि यहिँ उपचार गर्न राजी भएको भण्डारीले बताईन्।
भण्डारीको घुँडाको हड्डी पुरै खिइएर समस्या बढेकोले जोर्नी प्रत्यारोपण गरिएको डा. पोखरेलले बताए । उनका अनुसार यो प्रविधिबाट झापामा पहिलोपटक उपचार भएको हो । प्रदेश १ मै धरान र विराटनगरमा मात्रै यो प्रविधिबाट उपचार भैरहेको डाक्टर पोखरेलको भनाइ छ ।
शल्यक्रियापछि धातुको कृत्रिम घुँडा लगाईएको डा. पोखरेलले बताए । बिरामी भएर तीन महिनादेखि ओछ्यान परेकी भण्डारी अहिले सामान्य मानिस सरह हिँडडुल गर्नसक्ने भएकी छन् ।
मानिसमा बुढ्यौलीका कारण बिभिन्न रोग लागेपछि र शरीरको वजन धेरै हुँदा घुँडा खिईने समस्या देखिने गरेको डा. पोखरेलले बताए ।