बिर्तामोड , माघ ६ । बिर्तामोड नगरपालिकाको बजेट र दाताहरुको सहयोगबाट बिर्तामोड ३ मा राजवंशी समुदायको तीनसिनान घर निर्माण भएको दुई वर्षजति भयो । तर, त्यसको हरहिसाब अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

अलपत्र तीनसिनान घर

बिर्तामोड नगरपालिकाको १५ लाख र सहयोगीहरुको ८ लाख गरी २३ लाखको बजेटले भवन पूरा नहुँदा र निर्माण समितिले हरहिसाब सार्वजनिक नगर्दा समुदायस्तरबाट त्यसको व्यापक आलोचना भइरहेको छ । पटकपटक तीनसिनान घरको बारेमा प्रश्न उठ्ने गरेको छ । तीनसिनान घर भएको जग्गामा हिजो राजवंशी सामुदायिक भवनको शिलान्यास गर्ने कार्यक्रममा समेत अलपत्र परेको भवन र अनियमितताको आशंका गरिएको बजेटका बारेमा सहभागीहरुले कुरा उठाए । भवन शिलान्यास गर्न पुगेका बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाई र बिर्तामोड ३ का वडाध्यक्ष भोजराज सिटौलालाई दाता परिवारले ध्यानाकर्षण गराए । आफूहरुले तीनसिनान घरको लागि जग्गा दिएको र सो जग्गामा यसरी भवन अलपत्र पारेर छोड्नु राम्रो होइन भन्दै त्यसतर्फ चासो लिन जनप्रतिनिधिहरुलाई उनीहरुले आग्रह गरेका थिए । बिर्तामोड ३ का जितेन्द्र राजवंशीको परिवारले तीन सिनान घर बनाउन ४ लाख रुपैयाँ धुर पर्ने ४ कठ्ठा जग्गा राजवंशी समाज विकास समिति झापालाई पाँच वर्षअघि दान दिएका थिए ।

सोही तीनसिनान घरको लागि बिर्तामोडको ३ नं वडा कार्यालयले ३ लाख रुपैयाँ छुट्याएको छ । यसअघिको बजेट फरफारक नगर्दा वडा कार्यालयको बजेट खर्च हुन सकिरहेको छैन । वडाध्यक्ष सिटौलाले यसअघिको खर्च सार्वजनिक गरी वडा कार्यालयको थप बजेटले भवन निर्माण सम्पन्न गर्न आग्रह गरेका छन् ।
त्यस सिनान घर निर्माण गर्नका लागि राजवंशी समाज विकास समितिका तत्कालीन जिल्ला अध्यक्ष पुकारचन्द्र सिंह राजवंशीको अध्यक्षतामा निर्माण समिति बनेको थियो । त्यस समितिले हरहिसाब फरफारक गर्न अटेर गर्दै आएको राजवंशी समाज विकास समिति बिर्तामोडका अध्यक्ष जितलाल राजवंशीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्