बिर्तामोड , माघ ६ । सरकारले अब कोभिड-१९ विरुद्धको पहिलो डोज खोप लगाउनेलाई भेरोसेल खोप नदिने भएको छ ।

स्वास्थ्य सेवा विभागले भेरोसेल खोपको मौज्दात देशैभर न्यून रहेको भन्दै पहिलो डोज खोप लिनेलाई एस्ट्राजेनेका/कोभिसिल्ड खोप मात्रै लगाउन प्रदेश सरकार र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाइ निर्देशन दिएको छ । विभागको परिवार कल्याण महाशाखाले प्रदेश स्वास्थ्य निर्देशनालय र आपूर्ति केन्द्रहरूमा परिपत्र गर्दै भनेको छ, “स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७८/०९/२८ को मन्त्रिस्तरीय निणर्यानुसार कोभिड-१९ विरुद्धको बुस्टर मात्रा खोप (अग्रपंक्तिमा खटिने, सार्वजनिक सेवामा खटिने, रोग प्रतिरोधात्मक क्षमता कम भएका र ६० वर्षमाथिका नागरिकहरूलाई मात्र) दिने निणर्य भएबमोजिम खोप दिन सुरु भइसकेको वर्तमान परिप्रेक्ष्यमा स्वास्थ्य सेवा विभागको मिति २०७८/१०/५ को बैठकको निणर्यानुसार हाललाई भेरोसेल खोपको मौज्दात देशैभर न्यून रहेको हुँदा पहिलो मात्रा खोप लगाउन आउने सबै नागरिकहरूलाई कोभिसिल्ड/एस्ट्राजेनिका खोप नै लगाउने व्यवस्था मिलाउनुहुन निणर्यानुसार अनुरोध छ ।”विभागको खोप वितरण शाखाका प्रमुख बडेबाबु थापाका अनुसार अहिले टेकु भन्डारण केन्द्रमा तीन लाख डोज भेरोसेल खोप मात्रै मौज्दात छ । चीनबाट खरिद गरिएको थप खोप आउने मिति टुंगो लागेको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्