धर्मेन्द्र मामा,
बिर्तामोड । झापाका महिला तथा युवतीहरु स्वरोजगार बन्ने अभिप्रायले ब्युटीपार्लर तथा मेकअपसम्बन्धी तालिम लिन इच्छुक देखिएका छन्।

‘सीप सिकौं स्वरोजगार बनौं’ भन्ने नाराकासाथ झापाको ब्रिटिश ल्यांग्वेज एण्ड आइटी इन्स्टिच्युटले सञ्चालन गरेको तीन महिने सौन्दर्य कलासम्बन्धी तालिममा झापाली महिलाहरूको उल्लेख्य सहभागिता रहेको पाइएको छ। झापाका मुख्य शहरहरु बिर्तामोड, बुधवारे, धुलाबारी, सुरुङ्गा, दमक, चन्द्रगढीलगायतका स्थानमा तालिम सञ्चालन भइरहेको छ। त्यहाँ सञ्चालित ब्युटीपार्लर एवं मेकअप स्टुडियोलगायत सौन्दर्य सामग्री उत्पादक संस्था सुभानी सप्लायर्ससंगको सहकार्यमा सौन्दर्य कला तालिम सञ्चालनमा ल्याइएको संस्थाका प्रमुख वत्सल भट्टराईले जानकारी दिए।
आगामी चैत्र मसान्तसम्ममा तीन सय जना महिलाहरुलाई सीपमूलक तालिम प्रदान गरी स्वरोजगार बनाउने उद्देश्यले सञ्चालनमा ल्याइएको तालिममा हाल एक सय पचास महिलाहरु तालिममा व्यस्त रहेको भट्टराईले जानकारी दिए। सिटिइभिटीको कोर्षमा आधारित उक्त तालिमपश्चात् सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गर्न सिटिइभिटीमार्फत परीक्षा गराई आधिकारिकरुपमा सौन्दर्य व्यवसाय सञ्चालन गर्न सहज हुने भट्टराईको भनाई छ।
तालिमको कोर्ष पूरा गर्न सहभागीहरुले दश हजार शुल्क बुझाउनुपर्नेछ । जुन बाहिरी बजारमा चलेको शुल्कभन्दा धेरै नै सस्तो भएको बताइएको छ । अहिले बजारमा उक्त कोर्षको शुल्क पच्चीस हजारदेखि चालिस हजारसम्म रहेको छ। तालिमपश्चात् आफू स्वयंले पनि ब्युटीपार्लर सञ्चालन गर्नसक्ने र वैदेशिक रोजगारमा जानेहरुले पनि राम्रो अवसर पाउन सक्ने सहभागीहरुले बताएका छन्। सहभागी हुन चाहनेहरुले माघ १५ गतेदेखि सञ्चालन हुने तेस्रो चरणको तालिमको लागि बिर्तामोडको भद्रपुर रोडमा रहेको ब्रिटिश ल्यांग्वेज एण्ड आइटी इन्स्टिच्युटमा फारम भर्नुपर्ने र यसबाट छनोट भएकाहरुलाई मात्र तालिममा सहभागी गराइने सञ्चालक भट्टराईले जानकारी दिए। झापाको जुनसुकै स्थानका महिलाहरुले सहभागी हुन पाउने व्यवस्था गरिएको भट्टराईको भनाइ छ।