झापा , माघ ६ । झापामा कोरोना संक्रमित तीब्ररुपमा बढ्दै गएका छन् ।
बुधबार १५३ जना संक्रमित भएकोमा बिहीबार २४४ जना नयाँ संक्रमित थपिएका छन् । बिहीबार मेची र कोटीहोम ल्याबमा २०६ जनालाई परीक्षण गर्दा १२३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै बाहिरको ल्याबबाट १५ जना र एन्टीजेन विधिबाट १०६ जना संक्रमित थपिएका छन् । हाल जिल्लामा ४६४ महिला र ४९६ पुरुष गरी ९६० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १२ जना अस्पताल भर्ना भएका छन् भने अन्य होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं बाहिरका ९ जिल्लामा संक्रमण दर उच्च रहेको छ।
मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार झापा, मोरङ , सुनसरी, धनुषा, चितवन, मकवानपुर, कास्की, रुपन्देही, र कैलालीमा संक्रमण दर उच्च देखिएको छ । यी जिल्लाहरु अहिले कोरोनाबाट अत्यधिक जोखिममा रहेको मन्त्रालयले जनाएको छ।