बिर्तामोड , माघ ७ । बिर्तामोड ३ विराटपोखरीस्थित विश्व हिन्दु महासंघ भवनको शिव पंचमुखी मन्दिरमा विगत लामो समयदेखि माईक बजाएर हुँदै आएको नित्य पूजा र भजन किर्तनमा माईक बजाउन रोक लगाईएको छ ।

त्यसैकारणले गर्दा त्यहाँ हुने नित्य पूजा र भजन किर्तनमा एक सातादेखि माईक बजाउन छोडिएको हो । विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति सदस्य पुण्य प्रसाईका अनुसार गत हप्ता प्रहरी आएर ‘तपाईहरुको माईकको बारेमा उजुरी परेको छ तपाईहरुले मिलाएर मात्र माईक बजाउनूू’ भनेर मन्दिरका पुजारी याम खतिवडालाई मौखिक जानकारी गराएको उनले बताए । उजुरीकर्ताका बारेमा आफूहरुलाई थाहा नभएको र यसै बिषयमा बिर्तामोड नगरपालिकाका मेयर ध्रुबकुमार शिवाकोटीलाई विश्व हिन्दु महासंघका जिल्ला अध्यक्ष मोहन उप्रेतीलगायतले भेट गरेको उनले जानकारी दिए । त्यस मन्दिरमा विगतदेखि नै प्रत्येक सोमबार साँझ नजिकैका पाँचवटा किर्तन मण्डलीले भजन किर्तन गर्दै आएका थिए ।

विश्व हिन्दु महासंघ जिल्ला अध्यक्ष उप्रेतीले आफूहरुलाई थाहै नदिई कसैले उजुरी गरेको बताए । ‘हामीलाई थाहै छैन पुजारी याम खतिवडामार्फत जानकारी पाएका हांै ’ उनले भने । कसैलाई दैनिक क्रियाकलापमा आघात पुग्नेगरी आफूहरुले माईक नबजाएको उनको दावी छ । बिहान –साँझ ५.३० देखि ६.३० बजेसम्म नित्य पूजा साथै सोमबार साँझ भजन किर्तन गर्दा करिब २ घण्टा र अन्य धार्मिक पर्वका दिनमा एकाध घण्टा माईक बजाउने गरेको उनले बताए । कसैलाई आघात नपुग्ने हिसाबले सर्वकल्याण हेतुले मन्दिरमा विगत ३ वर्षदेखि माईक बजेको उप्रेतीको भनाई थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्