बिर्तामोड , माघ ७ । कोरोना संक्रमणको तेस्रो लहर शुरुवात भएयता झापामा ओमिक्रोन भाइरसले तेस्रो संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो पटक आज शुक्रबार दमकका एक संक्रमितको मृत्यु भएको हो । दमक ४ का ८१ वर्षिय बृद्धको उपचारका क्रममा आज बिहान ११ बजे बिर्तासिटी हस्पिटल बिर्तामोडमा मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । उनलाई पुष २८ गते नोबेल हस्पिटल विराटनगरमा एन्टीजेन विधिबाट संक्रमण पुष्टि भएको थियो ।

यसअघि गत आइतबार झापामा ओमिक्रोन भाइरसबाट दोस्रो संक्रमितको मृत्यु भएको थियो । कनकाई ७ की लिम्बू समुदायकी ७५ वर्षिया बृद्धाको ओमिक्रोनबाट मृत्यु भएको थियो भने त्यसअघि गत पुष २८ गते झापामा एक पुरुष संक्रमितको मृत्यु भएको थियो । योसंगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५९ पुगेको छ ।

तीब्ररुपमा कोरोना संक्रमण फैलिदै गएको झापामा शुक्रबार एकैदिन १८५ जना संक्रमित भएका छन् । मेची र कोटीहोम ल्याबमा १८५ जनालाई परीक्षण गर्दा १३५ जनालाई संक्रमण पुष्टि भएको हो । त्यस्तै बाहिरको ल्याबबाट एकजना र एन्टिजेन विधिबाट ५० जनालाई संक्रमण पुष्टि भएको छ ।

झापामा अहिले ५३७ महिला र ६०९ पुरुष गरी ११४६ जना सक्रिय संक्रमित छन् । त्यसमध्ये १५ जना अस्पतालमा भर्नारत छन् भने अन्य होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्