हल्दिबारी , माघ ८ । पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समूह हल्दिवारी ४ ले आफ्ना ४७ घर विपन्न उपभोक्ताहरुलाई फाइवर सिरक वितरण गरेको छ ।

समूहका अध्यक्ष चिरञ्जिवी पौडेलको सभापतित्वमा भएको कार्यक्रममा हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा नं ४ का वडा सदस्य केदार उप्रेती, फरेस्ट एक्सन नेपालकी फिल्ड अधिकृत मुना भट्टराई, प्रेस क्लब हल्दिवारीका अध्यक्ष नेत्रविक्रम विमलीलगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष लिङ्देनले दिनदिनै चिसो बढेको साथै कोभिडका कारण आर्थिक अवस्था प्राय सबैको खस्केको वेला सबैले आ–आफ्नो क्षेत्रवाट सकेको सहयोग गर्नुपर्ने धारणा राखे । उनले समूहले विपन्न वर्ग लक्षित गरेर सहयोग गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिन अनुरोध गरे ।

वडा सदस्य उप्रेतीले जाडोकोे समयमा केही मात्रामा भएपनि जीवनयापन सहज होस् भनेर सहयोग गरेकोमा समूहलाई धन्यवाद दिए ।सामुदायिक वन उपभोक्ता समूहको कार्ययोजनामा नै गरिबी न्यूनीकरणमा खर्च गर्नेैपर्ने नियम रहेको छ । प्रत्येक बर्ष विपन्नलक्षित विभिन्न कार्यक्रम गर्दै आएकोमा यसपटक साधारणसभावाट पारित गरेर अतिविपन्न वर्गमा परेकामध्ये ४७ घरधुरी उपभोक्तालाई सिरक दिएको वन समूहका अध्यक्ष पौडेलले बताए । मनिता गौतमले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन समूहकी सचिव भावना मैनालीले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्