बिर्तामोड, माघ ९ । झापाको बिर्तामोड–५ स्थित कृषि उपज बजारमा व्यवसायीहरुले आफूखुशी सटर किनबेच गर्ने प्रवृति बढ्दै गएको छ ।

नाफा खाएर दलालीहरुले सटर किनबेच गरिरहँदा कृषि बजार ब्यवस्थापन समिति भने अनभिज्ञ छ । बजारभित्रको सटर र स्टल किनबेच भइरहँदा बजार ब्यवस्थापन समितिलाई थाहै हुँदैन । एउटै व्यापारीको परिवारका पाँचजनाले समेत सटर पाएका छन् । संझौता एकजनाले गरेका छन् , व्यवसाय संचालन अर्कैले गरिरहेका छन् । कतिपय सटरमा बिनासंझौता व्यवसाय गरिरहेको पाइएको छ । यसरी व्यवसायीको एउटा समूहले आफूखुशी सटर बेच्ने र भाडामा लगाउने गर्दा नयाँ व्यवसायीले बजारमा ठाउँ पाउन सकिरहेका छैनन् । व्यवसायीहरुको सेन्डिकेट चलिरहेको छ कृषि थोक बजारमा ।

कृषि थोक बजारमा सटर र स्टल गरी ३२८ वटा रहेका छन् । त्यसमध्ये आधा बजार व्यवस्थापन समिति र आधा व्यवसायी आफैले निर्माण गरेका हुन् । ती सटरहरुलाई पाँचवटा सेक्टरमा विभाजन गरिएको छ ।

यसैबीच व्यवसायीहरुले बजार व्यवस्थापन समितिले आफूहरुको हकहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । समितिले व्यवसायीको हकहितभन्दा बाहिर गएर काम गरिरहेको व्यवसायीले आरोप लगाएका हुन् । व्यवस्थापन समितिले सेन्डिकेट लगाएर आफूनजिकका व्यापारीलाई सटर तथा गोदाम बेच्ने गरेको उनीहरुको भनाई छ । केही बर्षअघि कृषिजन्य वस्तु बेचबिखनका लागि समितिले निर्माण गरेको कृषि चौतारीमा समेत सामानहरु राखेर बेच्न नपाएको थोक बिक्रेताले गुनासो गरेका छन् । बजारभित्र खुद्रा काउन्टर भएपनि होलसेल ब्यापार गर्न त्यहाँ असहज भएको र बाहिर समितिले निर्माण गरेको चौतारी तथा खुल्ला स्थानमा पनि ब्यापार गर्न समितिले रोक लगाएको तरकारी ब्यवसायी बिर्तामोड–५ का सोमबिक्रम बोहोराले बताए । भारतीय तरकारी बिक्रीका लागि समितिले ठाउँ दिएको बताउँदै उनले स्थानीयस्तरमा उत्पादन भएका कृषि उपजलाई ठाउँ नदिएको गुनासो गरे ।

अर्का होलसेल ब्यापारी मदन अधिकारीले निरन्तर रुपमा व्यवसाय गरिरहेका ब्यापारीलाई ब्यापार अनुसारको बिक्रीका लागि ठाउँ उपलब्ध गराउनु पर्ने माग गरेका छन् । कृषि थोकमा अहिले खुल्ला रहेको जमिनमा पहाडबाट ल्याइएको तरकारी बिक्री वितरण गर्न पाउनु पर्ने उनको माग छ । बर्षौदेखि तरकारी व्यवसाय गर्दै आएका २५ देखि ३० जना व्यापारीलाई ठाउँ उपलब्ध नगराएको आरोप लगाउँदै उनीहरुले कृषिथोक बजारमा अन्य व्यवसाय जस्तै ग्यास, प्लाष्टिक, किराना पसललगायतका व्यवसाय सञ्चालन गरेकोप्रति आपत्ति जनाएका छन् । कृषि थोकमा बर्षौदेखि सटर तथा गोदाम बिक्री भइरहेको बताउँदै नागरिकता नभएका भारतीय नागरिकलाई आश्रय दिएको उनीहरुले आरोप लगाएका छन् ।

कृषि बजार ब्यवस्थापन समितिका अध्यक्ष कमलबहादुर पौडेलले बजारभित्रका सटर किनबेच भइरहेको कुरा स्वीकार गरेका छन् । आफू निर्वाचित भएको एक बर्ष मात्र भएको बताउँदै उनले यो समस्या बर्षौदेखिको भएको बताए । उनले सटर बिक्री गर्न नपाइने बताउँदै जसको नाममा सटर तथा गोदाम छन् ,उनीहरुको नातेदार बताएर अन्यले सटर तथा गोदाम चलाएको भन्ने जवाफ आउने गरेकाले समस्या उत्पन्न भएको जनाए । ‘समितिले कुनै पनि सटर तथा गोदाम बिक्री गर्न कसैलाई अनुमति दिएको छैन’ अध्यक्ष पौडेलले भने, ‘तर सटरबालाको आफन्त भनेर पसल सञ्चालन गरिरहेकाले हामीलाई पनि समस्या भएको छ ।’

उनले यसअघि नागरिकताबिना जोसुकै व्यवसायीसंग सटरका लागि संझौता गरिएकोमा अब नागरिकताबिना नवीकरण नगर्ने जानकारी दिए । बजारमा सटर किनबेच र गैरनागरिकको बोलबाला भइरहेको भन्ने गुनासोको आफूले नैतिक रुपमा जिम्मेवारी लिने पौडेलले बताए । उनले कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवद्र्धन केन्द्र हरिहर भवनले बजारको डिपिआर तयार गर्न लागेको बताउँदै डिपिआर बनिसकेपछि सटर किनबेचको समस्या हल हुने विश्वास व्यक्त गरे । उनले डिपिआरपछि त्यस्ता अस्थायी संरचना हटाएर ठूला संरचना निर्माण गरिने जानकारी दिए ।

सटर पाउने को को छन् त ?

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्