झापा , माघ १० । रेडजोनमा परेको झापामा ओमिक्रोन भाइरसबाट सोमबार एकैदिन दुईजनाको मृत्यु भएको छ ।
बिर्तासिटी हस्पिटलमा दुवै संक्रमितको मृत्यु भएको हो । मृतक दुवै पुरुष हुन् । बिर्तामोड नगरपालिका वडा नं २ का ४५ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो भने सोही हस्पिटलमा इलाम सन्दकपुरका ४६ वर्षिय पुरुषको पनि मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । तेस्रो लहरको कोरोना संक्रमण शुरु भएयता झापामा ओमिक्रोन भाइरसबाट योसहित पाँचजनाको मृत्यु भइसकेको छ । हालसम्म कोरोना संक्रमणबाट झापामा मृत्यु हुनेको संख्या ६६१ पुगेको छ ।
यसैबीच झापामा सोमबार एकैदिन २२४ जना संक्रमित थपिएका छन् । मेची र कोटीहोम ल्याबमा २४७ जनालाई परीक्षण गर्दा १५९ जनालाई संक्रमण पुष्टि भएको छ भने एन्टीजेन विधिबाट ६५ जना नयाँ संक्रमित थपिएका छन् । जिल्लामा हाल ७१६ महिला र ८३७ पुरुष गरी १५५३ जना सक्रिय संक्रमित रहेका छन् । त्यसमध्ये २१ जना अस्पतालमा भर्ना भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले बताए ।