धर्मेन्द्र मामा,
झापा , माघ ११ । बिहान सबेरैदेखि साँझ अबेरसम्म कमला कम्प्युटरको स्क्रिनसंगै बिताउँछिन् समय । उनका श्रीमान नरेन्द्र मेशिनसंगै खेलिरहेका हुन्छन्।

समयभित्रै पुस्तकहरू छापेर हस्तान्तरण गर्नुपर्ने चटारो छ उनीहरु दुवैलाई । काम सकिएको छैन भन्नु नपरोस् भन्ने पराजुली दम्पतिको चाहना छ । काममा निरन्तर लगनशीलताका साथ लागेकै कारण यी दम्पतिले चलाएको बुद्ध अफसेट प्रेस अहिले झापाका चर्चित प्रेसहरुमध्ये पहिलो नम्बरमा आउँछ । आफूलाई विवाह गरेर ल्याएपछि आफै काम गरेर कमाई खानुपर्छ भन्ने श्रीमानलाई सुझाव दिएकी कमला पन्ध्र वर्षभित्रमा शिखरमा पुगेकी हुन्।

विवाह गर्नुपूर्व श्रीमान नरेन्द्र पराजुली मेशिनमेनको रुपमा काम गर्दै आएको दशक बितिसकेको थियो। २०६४ सालमा एउटा सानो मेशिन खरिद गरेर आफै प्रेस सञ्चालन गर्न थालेका पराजुली दम्पती अहिले सबैको लोकप्रिय प्रेसको रुपमा स्थापित गर्न सफल भएका छन्। बिर्तामोडको भद्रपुर रोडमा एउटा सानो कोठा लिएर सञ्चालन गरेको बुद्ध अफ्सेट प्रेस अहिले झापाको सबैभन्दा बढी प्रकाशन गर्ने प्रेसको रुपमा चिनिएको छ ।

‘सुरु–सुरुमा सामान्य बिल पर्चा पम्प्लेटहरु मात्र छाप्थ्यौं , केही समयपछि झापाबाट प्रकाशित हुने दैनिक तथा साप्ताहिक पत्रपत्रिकाहरु छाप्न थाल्यौँ’ कमला विगतलाई सम्झदै भन्छिन् , ‘पछि गएर झापाका चर्चित पत्रिकाहरु विवेचना दैनिक, जनआन्दोलन साप्ताहिक, झापाली आवाज, यलम्बर टाइम्स, नयाँ कामना साप्ताहिक, बरुण साप्ताहिक, अर्जुनधारा दैनिक, पूर्वाञ्चल दैनिकलगायतका पत्रिकाहरू हाम्रै प्रेसमा छापिन थाले।’ त्यसपछि त झापाली साहित्यकारहरूको दृष्टि आफ्नै प्रेसमा पर्न थालेको बताउँदै उनले दर्जनौ झापाली साहित्यकारहरुले उनीहरुका कृतिहरु फटाफट आफ्नै प्रेसमा ल्याउन थालेको जानकारी दिइन् । झापाका चर्चित साहित्यकारहरु चूडामणि रेग्मी, तेजराज खतिवडा, सरोज ओली कोमलप्रसाद पोखरेल, डा. ठाकुर पोखरेल , जीवनाथ सुवेदी, डा. के आर खम्बू, मोहन प्रियाचार्य, विष्णुप्रसाद भट्टराई ,पुण्यप्रसाद खरेल, विजय पोखरेल, कृष्णप्रसाद उप्रेती, गोपीकृष्ण खनाल , राजेन्द्र संग्रौला, पुण्य खरेल, मातृका संग्रौला, इलामे जेठोलगायत दर्जनौं साहित्यकारहरूको कृति प्रकाशन गर्ने मुख्य प्रेस नै बुद्ध अफसेट प्रेस बन्न पुगेको छ।

‘अहिले कामको चाप धेरै नै बढेको छ’ नरेन्द्रले भने, ‘मेची अञ्चलसहित कोशी अञ्चलका विभिन्न जिल्लाहरुबाट समेत संघसंस्थाहरुले प्रकाशनका लागि सामग्रीहरु लिएर आउनुहुन्छ। सरकारी तथा गैरसरकारी संघसंस्थाका मुखपत्रहरु, प्रतिवेदनहरु लगायतका सामग्रीहरु निरन्तर प्रकाशित भइरहेका छन्।’ हालसम्म बुद्ध अफ्सेटबाट करिब १२ हजार फरक–फरक पुस्तकहरु प्रकाशन भएको नरेन्द्र सुनाउँछन्। वंशावली प्रकाशन गर्न केही अप्ठ्यारो भएपनि भट्टराई , न्यौपाने, गुरागाईं, लिम्बू ,बस्नेत, पोखरेल , बोखीमलगायतका थरको एक दर्जनबढी वंशावली प्रकाशन गरिसकेका छन्।
महत्वपूर्ण व्यक्तित्वहरूको स्मृतिग्रन्थ प्रकाशन गर्न पाउँदा उनीहरुको बारेमा जानकारी लिने अवसर समेत पाएको पराजुली दम्पतीको अनुभव छ । हालसम्म डि. कौडिन्य , नरपति लुइटेल, खडानन्द वाशिष्ठ, गोकुल जोशी, द्रोणाचार्य ,गोपीकृष्ण खनाल, शिक्षक सन्देशजस्ता दर्जनौं स्मृति ग्रन्थहरु बुद्ध अफ्सेटबाटै प्रकाशन भएका हुन्। श्रीमद् भागवत र गीताजस्ता धार्मिक ग्रन्थहरू पनि प्रकाशन भएका छन्।
‘कमला र नरेन्द्रसंग काम गर्न अत्यन्त आनन्द आउँछ, उनीहरु साह्रै सरल र मिजासिला स्वभावका छन्, कहिले पनि झर्कोफर्को नगर्ने आफूले अह्राएको काम इमान्दारपूर्वक गर्ने उनीहरूको बानी छ,’ प्रसिद्ध साहित्यकार कोमलप्रसाद पोखरेल अनुभव सुनाउँछन् । विगतको तुलनामा अहिले अफसेट प्रेसका नयाँ नयाँ प्रविधिहरु भित्र्याएकोले काम गर्न छिटो र सहज भएको सुनाउँछन् नरेन्द्र । सात सय पृष्ठसम्मका पुस्तकहरूलाई पर्फेक्ट बाइन्डिङ गरेर दिन सकिने, प्रतिघण्टा छ हजार पेज छाप्न सक्ने चेक मेशिन र इण्डियन मेशिनको प्रयोग गरी मल्टिकलर प्रिन्ट गर्ने सुविधा भएको नरेन्द्रले जानकारी दिए।

सबैभन्दा रमाइलो पक्ष के छ भने उनीहरुले काम गर्ने अरु मानिसहरु राखेका छैनन् । कमला आफै टाइप गर्छिन् भने नरेन्द्र आफै मेशिन चलाउँछन् र बुकबाइण्डिङ समेत गर्छन्। आफ्नै घरमा प्रेसको काम हुने भएकाले र आफै काम गर्ने भएकाले अन्य प्रेसको तुलनामा आफ्नो प्रेसमा सस्तो र छिटो हुने कमलाको दाबी छ । भर्खरै उनीहरुले सिटीपी प्रविधि भित्र्याएका छन् । जसबाट छपाइ र गुणस्तरीय सामग्री उत्पादन गर्न सहज भएको नरेन्द्र बताउँछन्। ‘ छिटोछरितो र सस्तो हुनुका साथै गुणस्तरीय सामग्री उत्पादन गर्ने भएकाले नै हामीले आफ्नो विद्यालयको सम्पूर्ण प्रकाशनसम्बन्धी कामहरु बुद्ध अफसेट प्रेसमा नै दिने गरेका छौं,’ बिर्तामोडस्थित न्यूटन एजुकेशन एकाडमीका प्रिन्सिपल देवेन्द्र हुमागाई बताउँछन् । ‘हामीले सकेसम्म आउने ग्राहकलाई सबै प्रकारका सुविधाहरु दिने प्रयास गरेका छौं, प्रुफ रिडिङको व्यवस्था गरिएको छ र तोकिएको समयमा नै सामग्रीहरुको उत्पादन गरेर दिने गरेकाले नै सबैको रोजाई हाम्रो बुद्ध अफसेट हुनपुगेको हो ’ कमला भन्छिन्, ‘सानातिना छपाइसम्बन्धी सामग्रीहरू त आउँछ नै ठूलाठूला पुस्तकहरू छाप्न पाउनु र उहाँहरूसँग काम गर्न पाउनु हाम्रो लागि खुशीको कुरा हो।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्