झापा, माघ १२ । राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ को खुलातर्फ गठबन्धनका उम्मेदवार गोपालकुमार बस्नेत विजयी भएका छन् ।

उनी गोलाप्रथाबाट विजयी भएका हुन् ।
पाँचदलीय सत्ता गठबन्धनका उम्मेदवार गोपाल बस्नेत र एमालेका गुरु बरालले बराबरी ४ हजार ४ सय ८८ मत पाएपछि गोलाप्रथा गरिएको हो ।
यसअघि अल्पसंख्यक कोटाबाट एमालेका उम्मेदवार सोनाम गेल्जेन शेर्पा विजयी भइसकेका छन्। एमालेका नेता शेर्पाले गठबन्धनका उमेदवार हेमराज राईलाई पराजित गर्दै विजयी भएका थिए।

अल्पसंख्यक कोटाबाट उम्मेदवार बनेका शेर्पाले ४ हजार ७ सय ५२ मत प्राप्त गरे। गठबन्धनका तर्फबाट उम्मेदवार राईले ४ हजार ३ सय ६८ मत प्राप्त गरे। त्यस्तै महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई निर्वाचित भएकी छन् ।

उनले प्रदेशसभाको ५२ र स्थानीय तहको १२२ जनप्रतिनिधिको मत पाइन् । अन्तिम मत परिमाण अनुसार गठबन्धनकी राईले ४ हजार ६ सय ९२ मतभार पाएकी छिन् । उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सुमित्रा भण्डारीले प्रदेशसभाका ३८ र स्थानीय तहका १४१ जनप्रतिनिधिको मत पाइन् । उनको मतभार ४ हजार ३ सय ६२ पुगेको छ ।

तेस्रो स्थान पाएकी राप्रपाकी उम्मेद्वार रन्जु प्याकुरेलले प्रदेशमा १ र स्थानीयमा ४ जनप्रतिनिधिको मत पाएकी छिन् । महिलातर्फ ३ मत बदर भएको छ । बदर भएको मत स्थानीय तहका जनप्रतिनिधिको रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्