सुरेश आले ‘सर्जु’,
बिर्तामोड , माघ १३ । कुनै समयमा घाँस उमारेर घरपालुवा चौपायालाई खुवाउने चलन थिएन । बिदेशतिर देखिने ठूला घाँसको फार्मको चलन अब नेपालमा भित्रिसकेको छ ।

घाँसको अभावमा नेपालमा पनि पशुपालनमा कठिनाई हुँदै गरेको छ । घाँसको परिपूर्ति गर्ने उद्धेश्यले नेपाली पशुपालक कृषकहरु खेतबारीमा घाँसको बीउ छरेर घाँसको जोहो गर्न लागेका छन् । यसैक्रममा झापामा पनि घाँसको सहारामा पशु चौपाया पाल्ने कृषकको संख्या दिनदिनै बढिरहेको पाईन्छ । शुरुवाती दिनहरुमा जे जस्तो भएपनि अहिले जै घाँस लगाउने पशुपालक कृषकको संख्या बढेको हो । जै घाँसको उत्पादन संगसंगै भरपर्दो दिगो पशुपालक कृषकको संख्या पनि बढिरहेको छ ।

बीउको मूल्य दोब्बर
यो वर्षको सिजनमा जै घाँसको बीउ नहुनेले १२० रुपैयाँ प्रतिकेजीसम्म किनेर छरेका छन् । त्यो मूल्यमा पनि बजारमा जै घाँसको बीउ अभाव देखियो । कृषकका अनुसार शुरुमा यो घाँसको बीउको चर्चा नै हुँदैन्थ्यो तर, पशुपालक कृषकको सोंचमा परिवर्तन आउन थालेपछि यसको माग बढेको हो । पशु पालेर केही प्रगति गर्न चाहने कृषकले थोरैधेरै जे जति जै घाँसको बीउ छरेका हुन्छन् नै । तब पशुपालन ब्यवसाय राम्ररी फस्टाउँछ भन्ने उनीहरुको भनाई छ । यसले गर्दा यसको बीउको मूल्य पनि दिनप्रतिदिन बढ्दै छ । केही वर्षअघि ५० रुपैयाँ प्रतिकेजी सजिलै उपलब्ध हुने जै घाँसको बीउको हाल मूल्य १२० रुपैयाँ प्रतिकेजीसम्म पुगेको छ । यसले गर्दा जै घाँसको बीउ उत्पादन गरेर बिक्री गर्ने कृषकहरुको आम्दानी बढेको छ । पशुपालक कृषकहरुको सोंच बदलिएसंगै जै घाँसको बीउको आपूर्ति समेत बढेको छ ।

धेरै किसान बीउमा आत्मनिर्भर
झापा जिल्लाका अधिकांश पालिकामा यो घाँसको बीउको बारेमा कृषकहरु सचेत छन् । बिनाप्रशिक्षण उनीहरु आफै बीउ उत्पादन गर्ने कार्यमा लागेका छन् । धेरथोर गाउँमा आपूर्ति हुने बीउ गाउँलेहरुबाटै प्राप्त हुन्छ । कसैकसैले धेरथोर कतैबाट जानकारी लिएर बीउ उत्पादन गरेर बिक्री गरी राम्रो मुनाफा आर्जन गरिरहेका छन् ।

टेस्ट कटिंग चार पटकसम्म
राम्रो मलजल गरेको खण्डमा जै घाँसलाई चार पटकसम्म काट्न सकिन्छ । पशुलाई प्रशस्त प्रोटिन तत्व प्राप्त हुने जै घाँस शुरुमा बीउ छरेर उम्रिएको २ महिनामा र त्यसपछि प्रत्येक एक–एक महिनामा ४ पटकसम्म काटेर चाराको रुपमा प्रयोग गर्न सकिन्छ । त्यसपछि छोडिएको बोटले धेरथोर बीउ समेत उत्पादन दिन्छ । तर, पूर्णरुपमा बीउ उत्पादनको लागि लगाईएको बाली हो भने एक पटक मात्र काट्न सकिन्छ ।

आधुनिक घाँसको बिरुवासंग पशुपालन
सरकारले किसानलाई आधुनिक पशु आहारामार्फत पशुपालन गर्न प्रेरित गरेको छ । यो परिस्थितिमा पशुको आहारा चोकर, ब्राण्ड र आधुनिक घाँसहरुसंग बद्लिदै छ । पशुपालक कृषकले आधुनिक चाराको भरपूर फाईदा उठाउँदै छन् । यो अवस्थामा कृषकहरुले पनि ब्यावसायिक घाँस खेतीतर्फ ध्यान दिँदैछन् । सालभर केही उत्पादन नहुने बाझो खेतमा समेत घाँसको बीउ उमारेर यसबाट फाईदा लिइराखेका छन् । यसबाट पशुपालक कृषकको जीवनस्तर उक्सिनुका साथै घाँसको बीउ उत्पादन गर्ने किसानको समेत जीवनस्तर उक्सिएको छ । यसले गर्दा घाँसको बाली संरक्षणमा समेत मद्धत पुगेको छ । यसबाट घाँसको अनावश्यक जोहो गर्नुपर्ने बाध्यता हटेको छ । यसबाट कमसेकम पशुपालक कृषकले घाँस आपूर्तिको झन्झट गर्न नपरी कम जमिन भएको ठाउँमा घाँसको बीउ उत्पादन गरेर धेरै मुनाफा कमाउन सक्छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्