कनकाई , माघ १४ । झापाको कनकाई नगरपालिका–७ स्थित दुर्गापुरको फक्तालुङ एजुकेशनले ब्रिटिस काउन्सिलद्वारा संचालित प्रयोगात्मक सिकाईमा इन्टरनेशनल अवार्ड जितेको छ ।

विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको नागरिक (ग्लोवल सिटिजन) को रुपमा विकास गर्ने उद्धेश्यले सन् २०१९÷२० मा विद्यालयमा संचालित प्रयोगात्मक सिकाई अभ्यासअन्तरगत विद्यालयले अवार्ड जितेको हो ।

विद्यालयका कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुले प्रयोगात्मक सिकाई कार्यक्रममा सहभागिता जनाएको विद्यालयका संचालक ओमबिक्रम नेम्वाङले बताए । उनका अनुसार अहिले पनि विद्यालयमा उक्त कार्यक्रम संचालनमा छ ।

झापाका ३० वटा सामुदायिक तथा संस्थागत विद्यालयले सहभागिता जनाएको उक्त सिकाई कार्यक्रममा झापाबाट चारवटा विद्यालयले मात्र इन्टरनेशनल अवार्ड जित्न सफल भएको फक्तालुङ एजुकेशनका भाइस प्रिन्सिपल तथा कार्यक्रम कोअर्डिनेटर लक्ष्मी अधिकारीले बताए । उनले अन्तर्राष्ट्रिय स्तरको नागरिक हुनको लागि पाठ्यक्रम सिकाई अभ्यास अनुसार विद्यार्थीलाई विभिन्न ७ वटा विधामा प्रयोगात्मक सिकाईमा भाग लिएको जानकारी दिए ।
विद्यार्थीलाई ढुङ्गा कलाकारिता, अन्धविश्वास, फोहोरलाई पुनः प्रयोग, धुम्रपान र त्यसको असर, परंम्परागत खेल, सन्थाल जातिको सोराई पर्वलगायतका विषयमा प्रयोगात्मक अध्ययन तथा अवलोकन गराईएको थियो ।

भारत, पाकिस्तान, भियतनाम, बेलायतगरी चारवटा देशका विद्यालयसंग सहकार्य गरी सिकाई कार्यक्रम गरिएको थियो । अवार्ड पाउने विद्यालयले ब्रिटिस काउन्सिलको लोगोलाई आधिकारिक रुपमा प्रयोग गर्न पाउने छ । उक्त विद्यालयले आगामी तीन बर्षसम्म अन्तर्राष्ट्रिय स्तरका यस कार्यक्रममा जोडिएका प्रशिद्ध विद्यालयहरुसंग सहकार्य र एक आपसमा भौतिक रुपमा अनुभव आदानप्रदान गर्न सक्ने छन् ।
झापाको फक्तालुङसहित चारवटा विद्यालयले उक्त अवार्ड हात पारेका हुन् । देशभरबाट ३ हजार विद्यालयले उक्त कार्यक्रमका लागि सहभागिता जनाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्