झापा , माघ १३ । ओमिक्रोन भाइरसले झापामा निरन्तर मानवीय क्षति गर्न थालेको छ । बिहीबार जिल्लाका एकजना संक्रमितको मृत्यु भएको भोलिपल्ट फेरि अर्का संक्रमितको पनि मृत्यु भएको हो ।

पछिल्लो चौबीस घण्टामा कचनकवल गाउँपालिका वडा नं ६ की ६२ वर्षिया महिलाको मृत्यु भएको हो । उनको बिहीबार बेलुका मेची अस्पतालमा मृत्यु भएको कचनकवल गाउँपालिकाका स्वास्थ्य शाखाका कर्मचारी महेश नेपालले जानकारी दिए । उनलाई एन्टीजेन विधिबाट संक्रमण पुष्टि भएको थियो ।
यसअघि कमल गाउँपालिका वडा नं १ की ४६ वर्षिया महिलाको ओमिक्रोनले मृत्यु भएको थियो । बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारका क्रममा बुधबार राति ८.३० बजे उनको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । उनलाई बुधबार नै एन्टीजेन विधिबाट संक्रमण पुष्टि भएको थियो । योसहित झापामा ओमिक्रोन संक्रमणबाट ७ जनाको मृत्यु भइसकेको छ भने हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या ६६३ पुगेको छ ।

यसैबीच पछिल्लो पटक झापामा ७२ जना नयाँ संक्रमित थपिएका छन् । थपिनेमा ३५ महिला र ३७ पुरुष रहेका छन् । शुक्रबारसम्म झापामा सक्रिय संक्रमितको संख्या १९३२ पुगेको छ ।त्यसमध्ये २५ जना अस्पताल भर्ना भएका छन् ।

यसैबीच प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६९३ जनामा कोरोना संक्रमण भएको छ ।
८४१ जनाको पीसीआर परीक्षण गर्दा ३८३ र ८१० जनाको एन्टिजेन परीक्षण गर्दा ३१० जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १७६, सुनसरीमा ८७, उदयपुरमा १५, इलाम र धनकुटामा ६–६, भोजपुरमा २, ताप्लेजुङ, संखुुवासभा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २२ जनामा संक्रमण भएको हो ।

मोरङको विराटनगरमा १३५, पथरीशनिश्चरे र सुन्दरहरैचामा ८–८, बुढीगंगामा ५, बेलबारी र उर्लाबारीमा ४–४, केराबारीमा ३, रतुवामाई र कटहरीमा २–२, कानेपोखरी, ग्रामथान, सुनबर्षी, जहदा र धनपालथानमा १–१, सुनसरीको धरानमा ३७, इटहरीमा ३२, इनरुवामा ५, रामधुनी र दुहबीमा ३–३, देवानगञ्ज र स्थानीय तह नखुलेका २–२, गढी, वराहक्षेत्र र कोशी गाउँपालिकामा १–१, उदयपुरको कटारीमा ७, बेलकामा ३, त्रियुगा र स्थानीय तह नखुलेका २–२, चौदण्डीगढीमा १, इलामको इलाम नगरपालिकामा २, माई, मांसेबुङ, सुर्योदय र माई जोगमाईमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ६, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको फक्ताङलुङ, संखुवासभाको मादी र खोटाङको दिप्रुङमा १–१ र प्रदेश १ बाहिरका २२ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा शुक्रबार ३२९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १५१ महिला र १७८ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ महिलाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ७ हजार ४१६ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्