बिर्तामोड , माघ १५ । झापाको बिर्तामोडमा रहेको वीरता जेसीजले पहिलो पटक स्थापना दिवस मनाएको छ ।


सन् १९८१ मा स्थापना भएको वीरता जेसीजले स्थापनाको ४१ औं वर्षमा स्थापना दिवस मनाएको हो ।
वीरता जेसीज सन् २०२२ को अध्यक्षमा प्रविण खड्का निर्वाचित भएर कार्यभार सम्हालेसंगै खड्काले आफ्नो कार्यकालमा नयाँ कार्यको थालनीको रुपमा पहिलो पटक स्थापना दिवस मनाउन शुरु गरिएको बताए ।
सन् १९८१ मा वीरता जेसीज स्थापना भएपनि यसभन्दा पछाडी वीरता जेसीजको स्थापनाकाललाई भुल्दै गएकाले वीरता जेसीज सन् २०२२ को नेतृत्व सम्हालेसंगै प्रत्येक वर्षको माघ १५ गतेलाई वीरता जेसीजको स्थापना दिवसको रुपमा मनाउन शुरु गरिएको उनले बताए ।
यस वर्षदेखि शुरु गरिएको वीरता जेसीजको स्थापना दिवस मनाउने कार्यलाई आगामी वर्षमा समेत निरन्तरता दिइने उनले बताए ।

वीरता जेसीजले ४१ औं स्थापना दिवस वीरता जेसीजका संस्थापक अध्यक्ष जेसीआई सिनेटर गोपालकुमार बस्नेतलाई सम्मान गरेर मनाएको उनले बताए ।
सन् १९८१ मा वीरता जेसीज स्थापना गरी त्यसवेलाको सुरुवाती संघर्षपूर्ण दिनहरुमा संस्थालाई अगाडी वढाउँदै सामाजिक तथा मानवीय सेवाको क्षेत्रमा क्रियाशील गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै संस्थापक अध्यक्ष जेसीआई सिनेटर बस्नेतलाई सम्मान गरिएको वीरता जेसीजका अध्यक्ष खड्काले बताए ।
वीरता जेसीजका संस्थापक अध्यक्ष बस्नेत राष्ट्रिय सभा सदस्य हुन् । गत माघ १२ गते सम्पन्न राष्ट्रियसभाको निर्वाचनमा राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश नं–१ बाट राष्ट्रिय सभा सदस्यमा उनी निर्वाचित भएका थिए । वीरता जेसीजका संस्थापक अध्यक्ष बस्नेत राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएर वीरता जेसीजको मात्र नभएर समस्त झापावासीको गरिमा बढाएको भन्दै उनलाई सम्मान गरिएको वीरता जेसीजका अध्यक्ष खड्काले बताए ।

वीरता जेसीजका अध्यक्ष खड्काको अध्यक्षता तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष महेश पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि पौडेल, वीरता जेसीज २०२२ का अध्यक्ष खड्कालगायतले बस्नेतलाई सम्मानपत्र प्रदान गरेका थिए । सम्मानपत्रको वाचन घनश्याम चौधरीले गरेका थिए ।
वीरता जेसीजका कार्यकारीणी उपाध्यक्ष कुशल खतिवडाले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा उपाध्यक्ष तथा कार्यक्रम संयोजक बसन्त ढकालले स्वागत गरेका थिए ।
वीरता जेसीजका कोषाध्यक्ष दिवाकरलाल चौधरीले आस्था वाचन गरेको कार्यक्रममा जेसीआई मिसन भिजन उपाध्यक्ष दिपेन धिमालले वाचन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि पौडेलले वीरता जेसीजले पहिलो पटक स्थापना दिवस मनाएकोमा खुशी व्यक्त गर्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
सम्मानित व्यक्तित्व संस्थापक अध्यक्ष बस्नेतले सन् १९८१ मा आफूहरुले वीरता जेसीज स्थापना गरेको र स्थापनाको ४१ औं वर्षमा आइपुग्दा वीरता जेसीज सन् २०२२ का अध्यक्ष प्रविण खड्काले वीरता जेसीजको स्थापना दिवस मनाउन शुरुवात गरेकोमा खड्काको प्रशंसा गर्दै आगामी वर्षहरुमा यसलाई निरन्तरता दिन आग्रह गरे ।

वीरता जेसीजका पूर्वअध्यक्ष राजकुमार पोखरेलले यस वर्षदेखि मनाउन थालेको वीरता जेसीजको स्थापना दिवसले वीरता जेसीजका संस्थापकदेखि हालसम्मका अध्यक्ष तथा पदाधिकारीहरुको योगदानलाई संधै स्मरणीय बनाउने बताए ।
कार्यक्रममा सहभागी वीरता जेसीजका पूर्वअध्यक्षहरु जेसीआई सिनेटर विनोद बस्नेत, प्रशान्त भण्डारी, शिवकुमार अग्रवाल, श्याम वंशल, शेखर ढकाल, राजेन्द्र चौलागाईं, आनन्दकुमार वस्नेतलगायतले वीरता जेसीजले यसवर्षदेखि स्थापना दिवस मनाएकोमा वीरता जेसीज सन् २०२२ का अध्यक्ष प्रविण खड्का तथा वोर्डका पदाधिकारीहरुलाई धन्यवाद दिएका थिए ।
कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव टिकाराम खतिवडाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्