बिर्तामोड , माघ १७ । नव संचारगृह प्रालिद्वारा नियमित प्रकाशन भइरहेको प्रतिदिन दैनिकले १४ औं वार्षिकोत्सव मनाएको छ ।

पर्यटकीयस्थल भुरुङ्गामा पल क्रिएसन एण्ड एड्भरटाइजिङ एजेन्सीसंग संयुक्त वनभोज कार्यक्रम गरी प्रतिदिन दैनिकले वार्षिकोत्सव मनाएको हो । कार्यक्रमको संविधानसभा सदस्य तथा नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीले उद्घाटन गरे । उनले प्रतिदिन दैनिकले निष्पक्ष , वास्तविकता र सही सूचना समाचार प्रकाशन गर्ने गरेको भन्दै अझ त्यसमा दृढ भएर लाग्न आग्रह गरे । उनले स्थानीय पत्रिकाले स्थानीय विषयवस्तुलाई नै बढी प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि प्रदेशसभा सदस्य एकराज कार्कीले अहिले पठनीय संस्कृति हराउँदै गएको बताए । उनले समाचारको हेडलाइन मात्र पढेर सामाजिक संजालमा कमेन्ट लेख्नु राम्रो नभएको धारणा राखे । प्रदेशसभा सदस्य कार्कीले स्वतन्त्र रुपले पत्रकारिता गरिरहेको प्रतिदिन दैनिक सबैमाझ लोकप्रिय रहेको भन्दै आगामी दिनमा अझ व्यापक र विस्तारका लागि शुभकामना दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष केशव ओझाले प्रतिदिन दैनिकले निष्पक्ष र बिनापूर्वाग्रही भएर पत्रकारिता गरिरहेको भन्दै स्वतन्त्र अस्तित्वलाई सधै कायम राख्न सुझाव दिए ।

नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष श्री सिटौलाले प्रतिदिन दैनिकले यो र त्यो नभनी हरेक राजनीतिक दल , वर्ग , समुदाय र क्षेत्रको समाचार समेट्ने गरेको भन्दै धन्यवाद दिए ।

प्रतिदिन दैनिकका अध्यक्ष युवराज दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति देउमान थेबे , नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले पनि शुभकामना दिएका थिए । त्यस अवसरमा प्रतिदिन दैनिकले उत्कृष्ट समाचारदाता , स्तम्भकार , वितरक र विज्ञापनदातालाई कदरपत्र र नगदले सम्मान गरेको थियो । सम्मानित हुनेहरुमा समाचारदाताहरु द्रोण अधिकारी , सुरेश आले मगर ‘सर्जु’ ,बरतलाल राजवंशी , स्तम्भकार रुपा राजवंशी , वितरकहरु लोकबहादुर कुँवर, आयुस कार्की र विज्ञापनदाता एक्सेल डेभलपमेन्ट बैंक रहेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि , बिशिष्ट अतिथिलगायतले सम्मान गरेका थिए ।

प्रतिदिन दैनिकका संचालक गजेन्द्र पौडेलले स्वागत गरेको कार्यक्रमको संचालन प्रतिदिन दैनिकका अर्का संचालक उमेश राउतले गरेका थिए । कार्यक्रममा प्रतिदिन दैनिकका संचालक युवराज ढकाल,सम्पादक इन्द्रसिंह राजवंशी, प्रतिदिन दैनिकका स्तम्भकार तथा शिखर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र राउत , गोर्खापोष्ट अनलाइनका प्रकाशक विरु दर्नाल ,पल क्रिएसनका संचालक सुमी विष्ट ,इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनकी कमला पौडेल , प्रतिदिन दैनिकका पत्रकार, व्यवस्थापक , पल क्रिएसनका कर्मचारीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्