भद्रपुर , माघ १७ । झापाको सुदूर दक्षिणी कचनकवल गाउँपालिकामा दूरदराजका गाउँ–वस्तीका घर–घरमा वर्षौंदेखि हिँडेरै पुगेर स्वास्थ्य सेवा पुर्याउँदै आएका स्वास्थ्य स्वयंसेविकाहरुको समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले साइकल उपलब्ध गराएको छ ।

स्वास्थ्य स्वयंसेविकाहरुको कामलाई सहज र छिटो–छरितो बनाउने उद्देश्यले उनीहरुलाई गाउँपालिकाले नयाँ साइकल वितरण गरेको हो ।गाउँपालिकामा हाल सेवारत् ६१ जना र वर्षौसम्म सेवा पुर्याएर हाल अवकाश भएका सात जनासमेत ६८ जनालाई आइतबार एक संक्षिप्त कार्यक्रमका बीच साइकल वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष अन्जार आलम, उपाध्यक्ष निमसरी राजवंशी, प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेत, योजना शाखा प्रमुख केशव मैनालीलगायतले स्वयंसेविकाहरुलाई साइकल हस्तान्तरण गरेका थिए । गाउँपालिकाको वार्षिक योजना अनुसार स्वयम्सेविकालाई साइकल वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिए । साइकल खरिदमा करिब ५ लाख रुपैयाँ खर्च भएको योजना शाखा प्रमुख मैनालीले जानकारी दिए ।

सोही कार्यक्रमका बीच सेवाबाट अवकाश पाएका सातजना स्वयंसेविकालाई गाउँपालिकाको तर्फबाट २५ हजार नगद पारितोषिकसहित सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट महेशचन्द्र नेपालले गरेका थिए ।

नयाँ साइकल पाउँदा निकै खुशी भएका स्वास्थ्य स्वयंसेविकाहरुले गाउँपालिकाले आफ्नो कामको सम्मान गरेको प्रतिक्रया दिएका छन् । गाउँपालिका अध्यक्ष आलमले स्वास्थ्य सचेतनाको अभाव रहेको गाउँ–वस्तीमा पुगेर खासगरी बालबालिका र महिलाहरुको स्वास्थ्य सुरक्षामा स्वास्थ्य स्वयंसेविकाहरुले पुर्याएको योगदान अतुलनीय रहेको भन्दै उनीहरुलाई काममा थप प्रेरित गर्न र उनीहरुको कामलाई सहज बनाउन साइकल प्रदान गरिएको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्