झापा , माघ १८ । नेपाल–भारत सीमा दशगजा ईलाकामा विष्फोटक पदार्थ लुकाईराखेको अबस्थामा फेला परेको छ ।

आज बिहान ९.४० बजे मेचीनगर–७ गैरीगाउँस्थित नेपाल–भारत सीमा दशगजा ईलाकामा विष्फोटक पदार्थ लुकाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हे.क्वा झापा मातहत विओपी काँकडभिट्टाबाट खटिएको सशस्त्र प्रहरी बल नेपालको मोवाइल गस्ती टोलीले नेपाल–भारत सीमा स्तम्भ नं ९०।१ र ९०।२ को बीच भागमा खोजतलास गर्दा बालुवामा गाडिएको अवस्थामा पछाडी बोक्ने झोला फेला परेको थियो । उक्त झोला चेकजाँच गर्दा झोलामा कपडा र प्लाष्टिकले बेरेर राखिएको कमरसियल डेटोनेटर ८० थान र नेपोलाईट ( High explosive) ९१ लोला बरामद भएको थियो । ती विष्फोटक पदार्थहरु थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टा झापामा बुझाएको सूचना अधिकृत सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेमबहादुर भण्डारीले जानकारी दिएका छन् ।

त्यस्तै हिजो मेचीनगर ८ जोरसिमलमा नेपाल नं. २ गण हे.क्वा झापा मातहत विओपी काँकडभिट्टा र सुरक्षा वेश बेलडाँगीबाट खटिएको सशस्त्र प्रहरी बल नेपालको टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ५ ख ९६८५ नं को ट्रक चेकजाँच गर्ने क्रममा मिति सकिएको पुरानो ईजाजत पत्र भएको अन्दाजी रु ३ लाख २५ हजार मूल्य बराबरको सिसौ जातको काठ २५० क्युफिट नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला डिभिजन वन कार्यालय चन्द्रगढीमा बुझाएको छ ।

त्यस्तै दमक २ जिरो प्वाईन्ट ईलाकामा ईलामबाट दमकतर्फ आईरहेको मे १ ज १६९८ नं को बोलेरो पिकअप गाडीलाई चेकजाँच गर्दा उक्त गाडीमा २ लाख ३५००० मूल्य बराबरको ४७ क्यु फिट साल जातको चिरान काठ फेला पारी आवश्यक कारवाहीको लागि डिभिजन बन कार्यालय चन्द्रगढीमा बुझाएको सशस्त्र प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्