बुद्धशान्ति , माघ १९ । कतिपय स्थानीय तहमा पर्याप्त मात्रामा कानून बनाउन नसक्दा जनतालाई दिनुपर्ने सेवा प्रभावित भइरहेका छन् । तर झापाको बुद्धशान्ति गाउँपालिका पाँच महिनामै ५ वटा कानून बनाउन सफल भएको छ ।

साउन मसान्तयता प्रमुख प्रशासकीय अधिकृतका रुपमा बुद्धशान्ति गाउँपालिकामा सरुवा भई आएका युवराज कट्टेलले पाँचवटा कानून बनाएका हुन् । सुरु–सुरुमा ऐन कानून अभावका कारण स्थानीय सरकार सञ्चालन गर्न गाह्रो परेता पनि हाल आएर स्थानीय तहले आफैले पर्याप्त कानून बनाएर सहज रुपमा सेवा दिैदै आएका छन् ।

बुद्धशान्ति गाउँपालिकाले साउनयता कृषि तथा पर्यटन ऐन, खानेपानी तथा सरसफाई ऐन, वातावरण तथा प्राकृतिक स्रोत व्यवस्थापन ऐन, प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन र फोहोरमैला व्यवस्थापन ऐन निर्माण गरिसकेको प्रमुख प्रशासकीय अधिकृत कट्टेलले बताए । उनले भने– सभाबाटै पारित गरेर ५ वटा कानून तयार गरेका छौँ, प्रमाणिकरण समेत भएको छ । मात्र राजपत्रमा छाप्न बाँकी छ । यसका अतिरिक्त विभिन्न दैनिक कामकाजमा आवश्यक पर्ने विषयसँग सम्बन्धित ऐन कानून बनाएका छौं ।

स्थानीय तहका दैनिक कार्य सम्पादनलाई सहज र वैधानिक बनाउन ऐन कानून निर्माण गर्ने गरेको छ । गाउँ नगरसभाबाट बहुमतले पारित भएको ऐन, कार्यविधि र निर्देशिकालाई स्थानीय तहका कार्यसम्पादनको कानुनका रुपमा लिने गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहलाई आफू अनूकुल, भूगोल सुहाउँदो, संघ र प्रदेशसँग नबाझिने गरी ऐन कानून निर्माण गर्ने अधिकार दिएको छ । यसअघि जिल्ला प्रशासन कार्यालय झापामा रहेका कट्टेल गाउँपालिकामा आएपछि बालबालिका ,युवा र सामाजिक रुपान्तरणमा नीतिगत काममा सकृय छन् । उनका अनुसार युवा सहभागिता सुनिश्चित नभएसम्म गाउँपालिकाबासीले चाहेको विकासलाई ब्यबस्थापन गर्न सकस पर्न सक्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्