बिर्तामोड,माघ २० । जयेन्द्रप्रसाद साहित्य सेवा कोषले वर्षोत्कृष्ट कृति, दीर्घ साहित्य सम्मान र धनमाया सक्रिय पत्रकारिता पुरस्कारका लागि प्रतिभा छनौट गरेको छ ।

कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले छनौट समितिले सिफारिस गरेको पुरस्कृत कृति, दीर्घ साहित्य सम्मान तथा पत्रकार प्रतिभालाई अनुमोदन गरेको हो ।

यस वर्ष २०७७ सालमा प्रकाशित कृतिहरु मध्येबाट राजेन्द्र संग्रौलाद्वारा लिखित ‘संक्रमण’ छनौटमा परेको छ । संग्रौलाले विश्व महामारीका रुपमा फैलिएको कोरोना संक्रमणले फैलाएको संत्रास र आफ्नो भोगाईलाई पुस्तकमा उतारेका छन् ।त्यस्तै यस वर्षको दीर्घ साहित्य सम्मानका लागि झापाको धुलावारीमा अवस्थित त्रिफला राष्ट्रिय पुस्तकालयलाई छनौट गरिएको छ । वर्षौंदेखि सञ्चालनमा रहेको पुस्तकालयलाई दीर्घ साहित्य सम्मान व्यक्ति वा साहित्य क्षेत्रमै क्रियाशील संस्थालाई प्रदान गर्न सकिने कोषको विधान बमोजिम यस वर्ष त्रिफलालाई प्रदान गर्ने निर्णय गरिएको हो । त्यसैगरी वर्षोत्कृष्ट धनमाया सक्रिय पत्रकारितातर्फ कारोबार दैनिकमा झापा समाचारदाता मनिषा चम्लागाँईलाई प्रदान गर्ने छनौट समितिको निर्णयलाई अनुमोदन गरेको छ ।
कोषले यसअघि २०७७ सालमा प्रकाशित कृतिहरु मध्येबाट उत्कृष्ट कृति छनौटका लागि उपाध्यक्ष विष्णुकुमार भट्टराईको संयोजकत्वमा सचिव राजेन्द्र प्रसाईसहितको छनौट समिति गठन गरेको थियो । त्यस्तै विष्णु चन्द्र पद्मा दीर्घ साहित्य सम्मान प्रतिभा छनौटका लागि कोषका अध्यक्ष प्रसाईको संयोजकत्वमा महासचिव छविलाल खतिवडा र सचिव राजेन्द्र प्रसाई सदस्य रहेको समितिलाई जिम्मेवारी दिइएको थियो ।

त्यसैगरी बर्षेनि प्रदान गर्दै आएको धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कारका लागि कोषका सदस्य लोकराज ढकालको संयोजकत्वमा सदस्य रेजिना गौतम र यज्ञप्रसाद पाठक सदस्य रहेको छनौट समिति गठन गरिएको थियो ।
तीनवटै समितिले पुरस्कारका लागि सिफारिस गरेका कृति तथा प्रतिभा अनुमोदन गरेको हो ।पुरस्कारको राशी समान २१÷२१ हजार रहेको कोषका कोषाध्यक्ष डिल्लीराम प्रसाईले जानकारी दिए ।
पुरस्कार आगामी फागुन ७ गते शनिबारका दिन एक कार्यक्रमको आयोजना गरी प्रदान गरिने कोषका सदस्य गौतम शर्मा शिवाकोटीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्