मेचीनगर , माघ २० । मेचीनगर ६ काँकरभिट्टाको बर्मेली टोलमा रहेको एसएस फुटवेयरमा आगलागी शुरु हुनेबित्तिकै स्थानीयले नजिकको मेचीनगर नगरपालिकाको दमकललाई खबर गरेका थिए । तर, सो दमकल आएन ।

किनकि मेचीनगर नगरपालिकाको दमकल बिग्रिएर थन्किएको १८ दिन भइसक्यो । गत माघ २ गतेदेखि मेचीनगर नगरपालिकाको दमकल बिग्रिएर ग्यारेजमा थन्किएको छ । माघ २ गते इलामको श्रीअन्तुमा भएको आगलागी निभाउन जाँदा सिद्धि खोला उत्तर दुई गोलाईमा सो दमकल दुर्घटनामा परेको थियो । ब्रेकफेल भएर पछाडि सर्दा वालमा ठोक्किएर दमकल र त्यसका स्टाफ जोगिएका थिए । दुर्घटनामा दमकलको पछाडिपट्टीको मेशिनमा क्षति पुगेको थियो । बिग्रिएको त्यस दमकललाई बिर्तामोडको एउटा ग्यारेजमा मर्मत गर्न दिइएको छ । तर, यतिका दिनसम्म दमकल मर्मत भएको छैन ।

बडी खोलेर पछाडिको मेशिन बनाउन र डेन्टिङ पेन्टिङ गर्न ग्यारेजमा लगिएको दमकल इन्चार्ज शेरबहादुर लिम्बुले बताए । ‘ मेकानिकले गर्दा गाडी मर्मतमा ढिलाइ भएको हो’उनले स्वीकार गर्दै भने ,‘ अर्को कुरा गाडीलाई विमा गरिएकाले विमा रकम भुक्तानीलगायत नगरपालिकाको प्रक्रिया पनि झन्झटिलो छ ।’ धेरैजनाको गुनासो आएपछि शुक्रबार नै दमकल ग्यारेजबाट निकाल्ने तामाङले बताए ।

सुख्खायाम शुरु भएपछि आगलागीका घटना निकै बृद्धि भएको छ । यस्तो बेलामा मेचीनगर नगरपालिकासंग भएको एउटा दमकल पनि बिग्रिएर थन्किएपछि स्थानीय आक्रोशित भएका छन् । मेचीनगरको यसअघिको पुरानो दमकल काम नलाग्ने अबस्थामा पुगेपछि करिव ११ वर्षअघि नगरपालिकाले ५ हजार लिटर क्षमताको हेभी दमकल ल्याएको थियो । एउटा मात्र दमकलले काम गर्न गाह्रो भइरहेको इन्चार्ज लिम्बुले बताए । ‘ एरिया ठूलो छ जनघनत्व पनि निकै छ’ उनले भने ,‘ब्याकअपमा अर्को भएको भए आज समस्या हुँदैनथ्यो ।’ मेचीनगरमा जिल्लाकै सबैभन्दा धेरै जनसंख्या रहेको छ ।त्यस्तै मेचीनगर क्षेत्र फराकिलो पनि छ । आफूहरुले सिंगो मेचीनगरसंगै छिमेकी इलाम पनि जानु परिरहेको लिम्बुले समस्या सुनाए । मेचीनगर नगरपालिकाको बारुणयन्त्र कार्यालयमा एकजना इन्चार्ज , दुईजना ड्राइभर र चारजना फायरमेन गरी ७ जना जनशक्ति रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्