झापा , माघ २२ । प्यूठान जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
दुर्घटनास्थलमै ६ जना र उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा थप दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी देवीप्रसाद गैरेले जानकारी दिए बताए।
नौबहिनी गाउँपालिकाको लुङबाट दुलही लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै ग १ ज ५०९२ नम्बर को जिप ओखरपाटामा दुर्घटना भएको हो । दुर्घटनामा घाइते ५ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच प्यूठान दुर्घटनामा मृत्यु हुने आठमध्ये सातजनाको पहिचान खुलेको छ। दुर्घटनामा गौमुखी–६ का ३९ वर्षीय बसन्त खड्का, ४० वर्षीया बसन्ती खड्का‚ ११ वर्षीया एलिसा खड्का‚ २९ वर्षीया केशरी खड्का, ३२ वर्षीय खेमबहादुर खत्री‚ ५२ वर्षीया नन्दी खड्का र ५० वर्षीय बलबहादुर बुढा मगरको सनाखत भएको हो । करिब २० वर्षीया महिलाको भने सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा मृत्यु हुनेमध्ये पाँचजना महिला र तीन पुरुष रहेका जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। बेहुला बेहुलीसहित पाँच जना घाइते छन्। उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले बताएको छ।
जिप अनियन्त्रित भई सडकबाट झण्डै २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।