बिर्तामोड, माघ २२ । प्रेस चौतारी नेपाल झापाले स्थापना दिवसको अवसरमा पत्रकारिता आचारसंहितासम्बन्धी अन्तरक्रिया सम्पन्न गरेको छ ।

२४ औं स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा आचारसंहिता विषयक अन्तरक्रियामा प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेलले सहजीकरण गरेका थिए । उनले पत्रकारितामा पालना गर्नुपर्ने आचारसंहिताका बारेमा चौतारीमा आवद्ध सदस्यहरुलाई जानकारी दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले आफ्नो सिङ्गो पार्टीले समयमा नै चुनाव गराउन परमादेशबाट बनेको सरकारलाई दबाव दिइरहेको बताए । अध्यक्ष कार्कीले एमालेको दबाव नभए परमादेशी सरकार निर्वाचन गर्न तयार नहुने बताउँदै प्रेस चौतारीलाई निर्वाचनका लागि पार्टीको एजेण्डाको पक्षमा कलम चलाउन आग्रह गरे । चौतारी पार्टीको जनसंगठन भएकाले राजनीतिक रूपमा एमालेलाई सबल बनाउन महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो ।

सो कार्यक्रममा प्रेस चौतारी नेपालको स्थापनादेखि हालसम्मको अवस्थाका बारेमा संगठनका केन्द्रीय सदस्य तथा पूर्व जिल्ला अध्यक्ष गोपाल काफ्लेले प्रकाश पारेका थिए ।
प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य सन्तोष आचार्य, पार्टीका प्रदेश कमिटी सदस्य सोमनाथ पोर्तेल र बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनालीलगायतले स्थापना दिवसको अवसरमा शुभकामना मन्तव्य राखेका थिए । उपाध्यक्ष प्रदीप परियारले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव प्रकाश पौडेलले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्