झापा , माघ २५ । जब मन्त्री पदका लागि अरुहरुले हानथाप गर्छन् , तब संविधानसभा तथा प्रदेशसभा सदस्य पूर्णसिंह राजवंशीको संझना गराउँछ ।

१ नं प्रदेशको मन्त्रिपरिषद विस्तारमा हानथाप गरेर अरुले मन्त्री पद पड्काउँदा पूर्णसिंहको बारेमा धेरैले सामाजिक संजालमा कमेन्ट गरेका थिए । सबै जाति समुदायबाट मन्त्री छानिरहँदा किन कोच समुदायका पूर्णसिंहलाई मन्त्री बनाइएन ? यस पटक पनि मन्त्री पाउनका लागि उनले चासै राखेनन् ।

पहिलो संविधानसभा निर्वाचनमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरी संविधानसभा सदस्य निर्वाचित भएपछि पूर्णसिंहलाई बालबालिका तथा स्वास्थ्य राज्यमन्त्री बन्न अफर आएको थियो तर, उनले त्यस प्रस्तावलाई अस्वीकार गरे । उनले मन्त्री नखाएपछि उनको ठाउँमा धर्मशीला चापागाईलाई मन्त्री बनाइएको थियो । त्यतिबेला बल्ल बल्ल पाएको मन्त्री पद पूर्णसिंहले किन छोडेको भनेर निकै चर्चा भएको थियो । सादा र सरल स्वभावका पूर्णसिंहले मन्त्री पदका लागि आशक्ति नदेखाई त्याग गरेको पाइयो ।

यसपटक प्रदेशको मन्त्रिपरिषद विस्तारमा पनि न उनलाई सोधियो , न उनले वास्ता गरे । ‘चाहँदाखेरि पाउँथे कि पाउँदिन थिएँ ’ उनले भने , ‘तर , मैले वास्तै गरिनँ ।’ २–४ महिनाको लागि आफूले मन्त्री खाने मन नगरेको उनले स्पष्ट पारे । यतिबेला संघ र १ नं प्रदेशमा नेकपा माओवादी केन्द्रसहितको गठबन्धन सरकार छ । माओवादी केन्द्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित पूर्णसिंहलाई जनआधार भएका इमान्दार ,लोकप्रिय र सशक्त नेता मानिन्छ ।‘मन्त्री खाने मन थिएन तर ,पनि कसैले सोधेनन् ’ उनले गुनासो गर्दै भने ,‘ ठीकै भयो ६ महिनाको लागि मलाई भित्तामा नाम लेखाउनु छैन। ’ मन्त्री पद खानका लागि ठूलै सोर्सफोर्स र चाकडी चाहिने उनको बुझाइ छ । जुन आफूसंग नभएको उनले बताए ।

पहिलो संविधानसभा निर्वाचनमा उनी झापा क्षेत्र नं ३ मा कांग्रेस नेता सिटौलालाई पराजित गरी संविधानसभा सदस्य भए । दोस्रो संविधानसभा निर्वाचनमा झापा क्षेत्र नं २ मा उनी उपविजेता बने । त्यस्तै पछिल्लो प्रदेशसभा निर्वाचनमा उनी झापा क्षेत्र नं ३ ‘ख’बाट प्रदेशसभा सदस्य निर्वाचित भए । यसरी हेर्दा कोच समुदायका नेता पूर्णसिंहको लोकप्रियता चुलिदै गएको छ । अझै निर्वाचनमा उठ्ने , निर्वाचन जित्ने र आफ्नो लागि नभएर देश र जनताको लागि मन्त्री बन्ने इच्छा रहेको उनले सुनाए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्