झापा , माघ २४ । संखुवासभामा जन्मिएर झापाको गौरादहलाई कर्मभूमि बनाई हाल इटहरीमा बसोबास गरिरहेका डम्बरबहादुर अधिकारीका छोराछोरीहरुले दिवंगत बुबाको नाममा प्रतिष्ठान गठन गरी चार जिल्लाका विभिन्न संस्थालाई आर्थिक सहयोग गरेका छन् ।

गत २०७७ माघमा इटहरीमा निधन भएका अधिकारीको पहिलो वार्षिक पुण्यतिथिमा २०७८ माघ १५ गते डम्बरबहादुर अधिकारी स्मृति सेवा प्रतिष्ठान गठन गरिएको हो । प्रतिष्ठानको अध्यक्षमा कर्णकुमारी अधिकारी र संयोजकमा गोबिन्द मानसिंह अधिकारी रहेका छन् । संरक्षकको रुपमा भुपेन्द्र अधिकारी र सदस्यमा टेकबहादुर अधिकारी( दिपक ) रहेका छन् ।
आफ्ना बुबाको स्मृतिमा अधिकारी परिवारले संखुवासभा, झापा, मोरङ र सुनसरीका चार जिल्लामा रहेका शैक्षिक तथा परोपकारी संस्थाहरुमा शैक्षिक सामग्री तथा लत्ताकपडा वितरण गर्न आर्थिक सहयोग निकासा गरेका छन् ।

यसक्रममा संखुवासभाको बानेश्वरमा खुडादेवी मन्दिर स्थापनाको लागि अधिकारी परिवारले २५ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको नरेन्द्र अधिकारीले जानकारी दिएका छन् । यो सहयोग रकम सम्बन्धित परिवारबाट प्राप्त गरिसकेको र एक साताभित्र एक कार्यक्रम आयोजना गरेर वितरण गरिने जनाइएको छ । त्यसैगरी डम्बरबहादुर अधिकारीका छोराछोरीले आफूले अध्ययन गरेको गौरादहको स्कुलचौन उच्च माविमा २५ हजार रुपैयाँ बराबरको न्यानो कपडा तथा शैक्षिक सामग्री वितरणका लागि रकम प्राप्त गरेको प्राचार्य बाबुराम भण्डारीले बताए । त्यसैगरी गौरादहकै डोरामारी उच्च माविमा पनि २५ हजार रुपैयाँ बराबरको न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गर्नका लागि आर्थिक सहयोग प्राप्त भएको प्राचार्य केदार भण्डारीले जानकारी दिएका छन् ।

त्यसैगरी डम्बरबहादुर अधिकारीकी कान्छी छोरी सबित्रा अधिकारी सुबेदीले पनि २५ हजार रुपैयाँ बराबरको न्यानो कपडा तथा शैक्षिक सामग्री बेलबारी नगरपालिकाको भगवती प्राबिमा वितरणका लागि रकम प्रदान गरेकी छन् ।
गौरादह नगरपालिकामा अधिकारी खत्री देवाली समिति अध्यक्ष दिलबहादुर अधिकारी खत्रीलाई अधिकारी बंशावली परोपकारलाई १० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ भने मायाघर सेवा आश्रम सुनसरी इटहरीलाई १० हजार रुपैयाँ प्रदान गरिएको छ । त्यसैगरी खस क्षेत्री कोषको सहयोगार्थ १० हजार सहयोग उपलब्ध गराइएको छ । बुबाकै स्मृतिमा ईन्द्रपुर नगरपालिका सदस्य, ईन्द्रपुर नमुना स्कुलका प्राचार्य , युवा समाजसेबी अर्जुन ढकालले कपी कलम बितरणको लागि १० हजार सहयोग अधिकारी परिवारबाट प्राप्त भएको जानकारी दिएका छन् ।

दिवंगत अधिकारीका छोराछोरी स्वदेश तथा विदेशमा रहेका छन् । माइला छोरा टेकबहादुर अधिकारी ‘दिपक’ वैदेशिक रोजगारीको सिलसिलामा लामो समयदेखि युएईमा छन् ।
युएईमा रहँदा झापाली समाज युएईको सामाजिक अभियानमा सक्रिय अधिकारीले झापाली समाज युएईका विगतका सेवामूलक कामहरुबाट प्रेरणा पाएर आफ्नो बुबाको स्मृतिमा परोपकारी कामहरु गरेको र भविष्यमा पनि गर्दै जाने बताए । अधिकारी परिवारको यो सहयोग अनुकरणीय रहेको झापाली समाज युएईका कार्यवाहक अध्यक्ष अमरराज राईले प्रतिक्रिया दिएका छन् ।
टेकबहादुर, अधिकारी प्रतिष्ठानको सक्रिय सदस्य हुन् । प्रतिष्ठानका संरक्षक भुपेन्द्र अधिकारी अष्ट्रेलियाको मेलबर्नमा बसोबास गर्दै आएका छन् । उनले त्रिभुवन विश्वबिद्यालयबाट अंग्रेजी बिषयमा एम.ए, एम.एड. साथै अष्ट्रेलियाको टोरेन्स युनिभर्सिटीबाट एम.वि.ए र एम.जि. पि. एम. गरेका छन् ।विभिन्न संघसंस्थाको स्थापना गर्दै आफ्नो पेशा संगसंगै सामाजिक कार्यमा पनि लागेका अधिकारी खस क्षेत्री नेपाल झापा जिल्लाको प्रथम अध्यक्ष पनि हुन् । जेठो छोरा गोविन्दमान सिंह अधिकारी मोरङ बेलबारी सरस्वती बिद्या मन्दिर अंग्रेजी स्कुलका संस्थापक प्राचार्य हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्