झापा , माघ २५ । झापाली समाज यु.एस.ए.को प्रथम विशेष साधारणसभाले अध्यक्षमा यमुना भट्टराईलाई नियुक्त गरेको छ ।

संस्थाका सल्लाहकारहरु, प्याटर्न सदस्यहरु र आजीवन सदस्यहरुको बीचमा गत ३० जनवरीमा सम्पन्न उक्त बिशेष साधारणसभाले अध्यक्ष मुकुन्द ढुंगानाले कार्यव्यस्तताको कारण आफूले समय दिन नसकेको हुँदा अध्यक्ष पदबाट दिएको मौखिक राजीनामा स्वीकार गर्दै वरिष्ठ उपाध्यक्ष यमुना भट्टराईलाई बाँकी कार्यकालको लागि अध्यक्ष चयन गरको हो ।

यसैगरी रिक्त वरिष्ठ उपाध्यक्ष पदमा संस्थाका उपाध्यक्ष सीता पाण्डे र उपाध्यक्ष पदमा सदस्य मोहन उप्रेतीलाई चयन गरिएको नवनियुक्त सचिव युवराज खतिवडाले जानकारी दिए ।
भर्चुवल विधि जूममार्फत करिब पाँच घण्टासम्म संचालन भएको बिशेष साधारणसभाले करिब डेढ बर्ष पहिले गत सेप्टेम्बर २०२० मा सम्पन्न प्रथम साधारणसभाले दिएको म्यान्डेट अनुसार समाजले अहिलेसम्मको यो छोटो अबधिमा प्राप्त गरेका उपलब्धिहरु र आगामी कार्ययोजनाहरु समेत समेटेर महासचिव निलम बिमलीद्वारा प्रस्तुत हालसम्मको कार्यप्रगति प्रतिवेदन साथै कोषाध्यक्ष युवराज खनालद्वारा प्रस्तुत हालसम्मको आर्थिक प्रतिवेदनलाई सर्वसम्मतले पारित गरेको थियो ।

यसैगरी सचिब युबराज खतिवडा संयोजक र डा. भेषराज मैनाली तथा तोया पौड्याल सदस्य रहेको तीन सदस्यीय बिधान संसोधन कार्यदलद्वारा पेश गरिएको परिमार्जित बिधानमाथि छलफल गर्दै ‘संस्थाको केन्द्रीय अध्यक्ष र महासचिव तथा स्टेट च्याप्टरको अध्यक्ष चयन हुनको लागि सम्बन्धित कमिटीहरुमा कम्तिमा एकपटक रहेर काम गरेको हुनुपर्नेछ ’ भन्ने प्रस्तावित बाध्यात्मक नियमलाई खारेज गर्दै अन्य केही प्रस्तावित नियमहरूलाई समेत सामान्य संशोधनसहित पारित गरेको छ ।

संस्थाका उपाध्यक्ष सीता पाण्डेको स्वागत मन्तब्य र उपस्थित सहभागी प्रतिनिधिहरुको बीचमा परिचयात्मक कार्यक्रमका साथमा सुरु भएको बिशेष साधारणसभामा झापा जिल्लाका विभिन्न स्थानहरुबाट अमेरिका आई विभिन्न पेशा ब्यबसाय र संघसंस्थाहरुमा आबद्ध सामाजिक अगुवाहरु प्रा. डा. गोपी उप्रेती, डा. शम्भु ढुंगाना, प्रेम संग्रौला, डा. मदन उप्रेती, खगेन्द्र अधिकारी, डा. भेषराज मैनाली, एनआरएन अमेरिकाका उपाध्यक्ष विकास उप्रेती साथै नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संजाल ईंजाको तर्फबाट गुणराज लुइँटेललगायतका व्यक्तित्वहरुले आ–आफ्ना भनाइ राखेका थिए ।

नवनिर्बाचित अध्यक्ष यमुना भट्टराईले अघिल्लो प्रथम साधारणसभाले म्यान्डेट दिएअनुसार एक व्यक्ति एक बिद्यार्थी परियोजनाअन्तर्गत नेपालमा २०० जना बिद्यार्थीहरुलाई बार्षिक छात्रवृत्ति प्रदान गर्न २ करोड रुपैयाँको अक्षय कोष स्थापनाका लागि आफ्नो कार्यकालमा सक्दो पहल गर्ने र आफूले पहिले गरेको प्रतिबद्धतामा अर्को एकजना बिद्यार्थीको लागि थप ४२२०० डलर योगदान दिने घोषणा समेत गरिन् । यसैगरी झापाली समाज युएसएको तर्फबाट झापा जिल्लाका विभिन्न निकायहरुलाई बिगतमा २ वटा एम्बुलेन्स प्रदान गरिसकेकोमा निकट भविष्यमा नै झापा गाउँपालिकामा रहेको रेडक्रस शाखालाई एउटा एम्बुलेन्स प्रदान गर्ने प्रकिया अन्तिम चरणमा रहेको र आउँदो शैक्षिक सत्रदेखि झापा र रौतहट जिल्लामा समेत गरी करीब ५० बिद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिने समेत जानकारी गराइएको थियो । उक्त साधारणसभाले कार्यसमितिका सदस्यद्वय मोहन निरौला र टिका पौड्यालले दिएको मौखिक राजीनामालाई समेत स्वीकृत गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्