कुमरखोद , माघ २६ । नेपाल रेडक्रस सोसाइटी कुमरखोद उपशाखाको सभापतिमा पुनः सुन्दरलाल गणेश सर्वसम्मत चयन भएका छन् ।

उपशाखाको सभाहलमा सम्पन्न पाँचौं साधारणसभा तथा दोस्रो अधिवेशनबाट सुन्दरलाल गणेश दोस्रो कार्यकालका लागि पुनःसभापतिमा सर्वसम्मत चयन भएका हुन् । रेडक्रस कुमरखोदको एक कार्यकाल सभापतिको सफल जिम्मेवारी पूरा गरिसकेका गणेश शिक्षण सेवाबाट अवकाशप्राप्त डिल्लीराज माविका पूर्व प्रधानाध्यापक समेत हुन् । शिक्षण सेवामा ३५ वर्ष विताइसकेका गणेश उमेर हदका कारण २०६९ देखि शिक्षण पेशाबाट अवकाश भई त्यसपछिका दिनहरुमा सामाजिक क्षेत्रमा क्रियाशील छन् ।

गणेशको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएपनि आधिकारिक घोषणा हुन भने बाँकी रहेको जनाइएको छ । रेडक्रसको विधानअनुसार निर्वाचन अधिकृतका रुपमा जिल्लाबाट खटिएका नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाका कोषाध्यक्ष हेम खड्काको सहजीकरणमा कार्यसमिति सर्वसम्मत चयन भएको हो । नवनिर्वाचित कार्यसमितिको आगामी फागुन ४ गते हुने औपचारिक कार्यक्रमकाबीच घोषणा हुने बताइएको छ ।

सभापतिमा गणेशसँगै उपसभापतिमा कल्पना खड्का, सचिवमा पशुपतिलाल गणेश, कोषाध्यक्षमा लख्खीकुमारी गणेश, उपसचिवमा जगन्नाथ पौडेल, उपकोषाध्यक्षमा कलाम शेख चयन भएका छन् । त्यस्तै सदस्यहरुमा मिथिलेशकुमार गणेश, चेतना विश्वकर्मा, प्रदिप गणेश, नुनुवा टुडु, गिरीधारीप्रसाद सिंह चयन भएको बताइएको छ । उपशाखा सभापति सुन्दरलाल गणेशको सभापतित्व एवम् झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहको प्रमुख आतिथ्य रहेको कार्यक्रममा वडा नं.१ का वडाध्यक्ष राजकुमार यादव, वडा नं.२ का वडाध्यक्ष नेत्रबहादुर खड्का, नेरेसो प्रदेश नं.१ का कोषाध्यक्ष ओमप्रकाश गौतमलगायतले शुभकामना मन्तव्य राखेका थिए । उपकोषाध्यक्ष कल्पना खड्काले स्वागत गरेको कार्यक्रमको संचालन सचिव पशुपतिलाल गणेशले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्