झापा , माघ २७ । आउँदो वैशाख ९ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा एसईईको तालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले वैशाख ९ गतेदेखि २० गतेसम्म हुने परीक्षाको तालिका आज सार्वजनिक गरेको हो ।
तालिकाअनुसार पहिलो दिन ९ गते अनिवार्य–अंग्रेजी, अनिवार्य–संस्कृत भाषा र साहित्य विषयको परीक्षा हुनेछ । परीक्षाको तालिका राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमा गएर हेर्न सकिन्छ ।
सरकारले वैशाख ३० गते स्थानीय तहको चुनावको मिति घोषणा गरेकाले त्यसअघि नै परीक्षा तोकिएको हो । कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको हो ।

चुनावमा शिक्षक र कर्मचारी पनि खटिने भएकाले चुनाव अघि नै परीक्षा सक्नेगरी मिति घोषणा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बताए । यो वर्ष झण्डै ५ लाख ८ हजार विद्यार्थीले परीक्षा दिने अनुमान छ । कोरोना भाइरसको तेस्रो लहर फैलिएसँगै बन्द भएका विद्यालय आउँदो फागुन १ गतेदेखि खुल्दैछन् ।
विद्यालय बन्दा हुँदा वैकल्पिक माध्यमबाट विद्यार्थीलाई पढाउँदै आए पनि त्यो प्रभावकारी हुन सकेको छैन । त्यसैले विद्यार्थीको पढाइ पूरा गर्न चैतसम्म कक्षा सञ्चालन गर्ने र वैशाखमा परीक्षा गर्ने निर्णय भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्