झापा , माघ २७ । यसै साता राप्रपा परित्याग गरेका कमल थापाले संवैधानिक राजतन्त्रको मुद्दा छाडेर नयाँ दल खोल्ने भएका छन् ।

धुम्बाराहीस्थित थापाको सम्पर्क कार्यालयमा भेला भएका राप्रपाका पूर्व नेताहरूले हिन्दु राष्ट्र, सुशासन र समृद्धिलाई पार्टीको मुख्य एजेण्डा बनाउने निर्णय गरेका हुन् ।
त्यसका लागि शनिबारसम्म आवश्यक तयारी पूरा गर्ने उनीहरूले बताएका छन् । ‘आजको भेलाले कमल थापाको नेतृत्वमा नयाँ दल खोल्ने निर्णय गरेको छ’ राप्रपाका केन्द्रीय सदस्य राजाराम बर्तौलाले भने, ‘नयाँ दलको मुख्य एजेण्डा हिन्दु राष्ट्र, सुशासन र समृद्धि हुने छ ।’ बर्तौला हाल राप्रपामै रहे पनि कमल थापा निकट नेता हुन् ।

२०६२–०६३ को जनआन्दोलनपछि अधिकांश राजनीतिक दलहरूले संघीयता, लोकतान्त्र, गणतन्त्र र धर्मनिरपेक्षतालाई आफ्नो एजेण्डा बनाउँदा थापा भने एकात्मक हिन्दु अधिराज्यको पक्षमा उभिएका थिए ।
मंसिरको तेस्रो साता भएको राप्रपाको महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि असन्तुष्ट रहेका थापाले त्यसका लागि पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासले भूमिका खेलेको आरोप लगाउँदै आएका थिए ।

‘शनिबारसम्म आवश्यक तयारी पूरा गरेर निर्वाचन आयोगमा जाने तयारी भएको छ’ एक दिनअघि राप्रपा छाडेका उद्धव पौडेलले भने । पौडेलले नयाँ दलको दर्ताका लागि फागुन १ गते नै निर्वाचन आयोग जाने सम्भावना रहेको पनि बताए ।
थापाको नेतृत्वको दलको नामको टुङ्गो पनि शनिबारसम्म लाग्ने पौडेलले बताएका छन् । ‘केही नाम प्रस्तावमा आएका छन् । अन्तिम निर्णय भने भइसकेको छैन’ पौडेलले भने । ’राष्ट्रिय जन एकता पार्टी’, ’परिवर्तन नेपाल पार्टी’ लगायतका नामहरू छलफलमै रहेको पौडेलको भनाइ छ । थापाको पार्टीको केन्द्रीय कार्यालय राप्रपाको पार्टी कार्यालय नजिकै धुम्बाराहीमै रहने बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्