झापा, माघ २८ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोभिड-१९ विरुद्धको २४ लाख डोज खोप नहराएको दाबी गरेका छन् ।

उनले उक्त खोपको तथ्यांक आउन मात्रै बाँकी रहेको बताएका छन् । मन्त्री खतिवडाले आज पत्रकार सम्मेलनमार्फत् आफ्नो १०० दिने कार्यकालबारे जानकारी गराउँदै २४ लाख डोज लक्षित नागरिकसम्मै पुगेको तर स्थानीय तहहरुबाट त्यसको विवरण आइपुग्न बाँकी रहेको जिकिर गरे । २४ लाख डोज खोपको तथ्यांक छानबिनका लागि बनेको समितिले दिइएको डेडलाइनमा नै खोपको प्रकार र विवरणअनुसारको प्रतिवेदन बुझाउने उनको विश्वास छ । बुस्टर डोजको रुपमा लक्षित समूह बाहिरकाले खोप लगाएको र त्यसको विवरण नराखिएकोबारे पत्रकारहरुको प्रश्नमा मन्त्री खतिवडाले भने, “खोप पर्याप्त उपलब्ध भएका कारण केही समूहले बुस्टरको रुपमा पनि बढी खोप लिएको हुनसक्छ ।”



