झापा , माघ २८ । राष्ट्रिय प्रजातन्त्र पार्टीले बाह्रदशी गाउँपालिकाको अध्यक्ष पदमा रामकुमार सिंह राजवंशीलाई उठाउने भएको छ ।

आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि बाह्रदशी गाउँपालिकाको अध्यक्ष पदमा राजवंशीलाई उठाउने पार्टीले सर्वसम्मत प्रस्ताव गरेको हो । आज बाह्रदशीमा आयोजित स्थानीय निर्वाचनसम्बन्धी प्रशिक्षणमा राजवंशीको नाममा सर्वसम्मत प्रस्ताव आएको जिल्ला अध्यक्ष केशव ओझाले बताए । गाउँपालिकाका सम्पूर्ण वडाहरुबाट उनको नाममा सर्वसम्मत प्रस्ताव आएको ओझाले जानकारी दिए ।

त्यसैगरी वडा समितिहरुले वडा तहका संभावित उम्मेद्वारहरु पनि तय गरिरहेको उनले जानकारी दिए । गाउँ समिति अध्यक्ष पीबी कट्वालको अध्यक्षता एवं पूर्वमन्त्री टेकनारायण राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला अध्यक्ष ओझालगायत अन्य जिल्लास्तरका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्