कानेपोखरी , माघ २८ । मोरङको कानेपोखरी गाउँपालिका –६ दहिधापमा अर्काको जग्गा हेर्न आउनेलाई भू–माफिया भन्दै स्थानीय सुकुम्बासीले कुटपिट गरेका छन् ।

उक्त गाउँपालिकाको वडा नं –६ दहिधापका बासिन्दाहरूले काठमाडौं बस्ने हिरामणी दाहाल र हरिप्रसाद दाहालको नाममा रहेको जग्गा हेर्न आउने ३ जनालाई मरणासन्न हुने गरी कुटपिट गरेका हुन् । रामेछाप जिल्ला सुनपाती गाउँपालिका घर भई काठमाण्डौ बस्दै आएका शेरबहादुर मगर, काठमाण्डौ जोरपाटी ७ बस्ने प्रल्हादमान सिंह बस्नेत र सोलुखुम्बु दुधकुन्जा नगरपलिका बस्ने नुतन श्रेष्ठलाई स्थानीयले पक्राउ गरी कुटपिट गरेका थिए । आक्रोशित स्थानीयहरुको हुलले उनीहरु सवार बा ९ च ५७७३ नम्बरको कारको सिसा र अन्य भागमा तोडफोड गरेका छन् ।
वर्षौदेखि बसोबास गर्दै आएका यहाँका सुकुम्बासीहरुले भोगचलन गर्दै आएको जग्गा हेर्न आएका उनीहरूले त्यहाँको जग्गाको फोटो खिच्न थालेपछि स्थानीयले भू–माफिया आएको भन्दै आफूहरूलाई उठाउन सक्ने भनेर कुटपिट गरेका थिए । ठूलो संख्यामा भेला भएका स्थानीयहरू कुटपिट र तोडफोडमा उत्रिएपछि प्रहरी चौकी रमाइलो, इलाका प्रहरी कार्यालय पथरी र सशस्त्र प्रहरी बल शनिश्चरे पुगेको थियो । ठूलो संख्यामा खटिएका सुरक्षाकर्मीले भीड नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

७ घण्टासम्म स्थानीयको घेराबन्दीमा रहेका उनीहरुलाई प्रहरीले बिहीबार साँझ इप्रका पथरी लिएर आएको डिएसपी कृष्ण खड्काले बताए । वर्षौदेखि सुकुम्बासीहरुले भोगचलन गर्दै आएका जग्गाको फोटो र भिडियो खिच्ने गरेको देखेपछि भू–माफिया हुनसक्ने भन्दै स्थानीयले नियन्त्रणमा लिएर कुटपिट गरेको प्रहरीले जनाएको छ ।

प्रशासनको रोहवरमा तीन बुँदे सहमति गरेपछि उनीहरूलाई छोडेको थियो । इप्रका पथरीमा भएको छलफलमा आउँदा दिनमा माफियागिरी नगर्ने, सुकुम्बासीलाई दुःख नदिने, आउँदा दिनमा नआउने प्रतिबद्धता गरेपछि सहमति गरेर छोडेको स्थानीय अम्बिका अर्यालले बताए ।कानेपोखरीको गाउँपालिकाभित्र झण्डै पाँच हजार घरधुरी सुकुम्बासी रहेका छन् । सबैभन्दा बढी कानेपोखरी ६ मा रहेका छन् । कानेपोखरी ६ मा मात्र १ हजार ३ सय घरधुरी सुकुम्बासी रहेका छन् । नयाँ मान्छे आएर सुकुम्बासीले वर्षौदेखि भोगचलन गर्दै आएको जग्गा हडप्न खोज्नेहरूलाई स्थानीय एकजुट भएर लखेट्ने गरेका छन् ।

यहाँ यो घटना भने नौलो होइन, यसअघि २०७३ सालमा पनि यस्ता घटना भएको थियो । उतिखेर तीन जनामध्ये शेरबहादुर मगरले ठुलै ग्याङ ल्याएर नापजाँप गर्दा स्थानीय र उनीहरूबीच झडप भएको वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेतले बताए । तीन जनामध्यें शेरबहादुर मगर भूमाफियाको मुख्य नाइके भएको उनीहरुको भनाइ छ । नुतन श्रेष्ठलाई कार चालक प्रल्हादमान सिंह बस्नेतले लिएर आएको बताइएको छ । शेरबहादुर मगर र कार चालक प्रल्हादमान सिंह बस्नेतबीच पुरानो चिनजान भएको उनीहरुले बताएका छन् ।

नुतन श्रेष्ठ काठमाण्डौं मल्टीप्रपोज कन्स्ट्रक्सन कम्पनीका निर्देशक हुन् । साविकको वडा नं. ८ दहिधापमा काठमाडौं निवासी हिरामणी दाहालको नाममा १२ विगाह र हरिप्रसाद दाहालको नाममा १३ विगाहको लालपुर्जा रहेको बताइन्छ । उनीहरुको लालपुर्जा वनक्षेत्रमा पनि भेटिएको वडाध्यक्ष खड्ग बस्नेतले बताए । जुन क्षेत्रमा सुकुम्बासीको बस्ती रहेको छ । दाहाल परिवारले उतिखेर मालपोतको कर्मचारीसँगको मिलेमतोमा सो बराबरको जग्गाको लालपुर्जा आफ्नो नाममा बनाएको वडाध्यक्ष बस्नेतको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्