पथरी, माघ २९ । मोरङको सुनवर्षी नगरपालिका–२ स्थित अमरदहमा ढल्केजोवन अन्तर्राष्ट्रिय आमन्त्रित फुटबल प्रतियोगिता आगामी फागुन १३ गतेदेखि हुने भएको छ ।

ढल्केजोवन गोल्डकपको तयारीका बारेमा आज दिउँसो विरेन्द्र सार्वजनिक माविको खेलमैदानमा पत्रकार सम्मेलन आयोजना गरी सोको जानकारी दिइएको हो । ३० वर्षमाथिका खेलाडीहरूको सहभागिता रहने उक्त प्रतियोगिता फागुन २४ गतेसम्म संचालन हुने छ ।प्रतियोगितामा नेपाल , भारत तथा भुटानका सहित १२ टिमले सहभागिता जनाउने भएका छन् ।
प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भइसकेको ढल्केजोवन गोल्डकप आयोजना क्लवका अध्यक्ष प्रताप तामाङले बताए ।

प्रतियोगितामा भुटानको फ्रेन्ड्स भेट्रान फुटबल क्लव तथा भारतको दार्जिलिङ भेट्रान फुटबल क्लब र सिक्किम भेट्रान फुटबल क्लबले भाग लिनेछन् भने नेपालका नेपाल आर्मी क्लब, सशस्त्र प्रहरी बल , पोखरा–११ , बुटवल भेट्रान क्लब , हेटौडा भेट्रान क्लब, सुन्स भेट्रान क्लब , काठमाडौंको लक्षुमण भेट्रान क्लब , झापा भेट्रान फुटबल क्लब तथा आयोजक मोरङ भेट्रान फुटबल क्लबले सहभागिता जनाउने अध्यक्ष तामाङले बताए ।

प्रतियोगितामा विजयी हुने प्रथम टिमलाई ५ लाख ११ हजार रुपैयाँ तथा द्वितीय हुने टिमलाई २ लाख ५१ हजार नगद पुरस्कार प्रदान गरिने भएको छ भने प्रतियोगितामा उत्कृष्ट खेलाडी , उत्कृष्ट रेफ्री , उत्कृष्ट गोलरक्षकलगायतलाई समेत नगद , ट्रफी ,मेडल तथा प्रमाणपत्र प्रदान गरिने उक्त अवसरमा जानकारी दिईयो ।
सोहि क्षेत्रमा बसोबास गर्ने प्रदेश नं १ का सांसद लीलावल्लभ अधिकारीले १ लाख ४० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको उक्त प्रतियोगितामा सुन्दर हरैंचा, लेटाङ ,सुनवर्षी पथरीशनिश्चरेलगायतका क्षेत्रका उद्योगी व्यापारीहरुले ५० हजार भन्दाबढी आर्थिक सहयोग प्रदान गरेको बताइयो ।

सुनवर्षी नगर क्षेत्रको व्यावसायिक प्रवद्र्धन तथा खेलकुद विकासमा टेवा पुर्याउने उद्देश्यले आयोजना गरिने उक्त प्रतियोगिता सम्पन्न गर्नका लागि अहिलेसम्म ४० लाख बढी आर्थिक संकलन भैसकेको र सोही अनुसार खर्च हुने अनुमान गरिएको छ ।
मोरङ फुटबल संघ अध्यक्ष दिपेन्द्र धिमालको प्रमुख आतिथ्यमा भएको सम्मेलनमा संघका उपाध्यक्ष हेमेश्वर राई, सचिव विनोद राजवंशी, विरेन्द्र सार्वजनिक माविका अध्यक्ष सोभित रायमाझी, पूर्व राष्ट्रिय खेलाडी संजिव बुढाथोकी, एन्फा रेफ्री विक्रम कार्की, सजित धिमाल, खेलप्रेमी गणेश थलुङलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्