सुरेश आले ‘सर्जु’,
बिर्तामोड , फागुन २ । गमला खेती प्रविधिले भान्सामा परिवर्तन ल्याएको छ । झापा जिल्लाका केही गृहणीहरुले अभियानकै रुपमा थालेको गमला खेतीको मद्धतले भान्सामा सहज भएको उनीहरु बताउँछन् ।


गमला खेतीको प्रविधि भित्रिदै गर्दा चाहेको तरकारी, फलफुल, सागपात ईत्यादि सहजै घरमा उत्पादन हुन थालेको छ । जसले गर्दा तरकारीको लागत र शुद्धताप्रति पनि गृहणीहरु सचेत बनेका छन् । खेती गर्ने जमिनको अभाब र बजारबाट तरकारी खरिद गर्नुपर्ने झन्झटबाट उनीहरु मुक्त भएका छन् ।
शहरको कोलाहलमा फसेका गृहणीहरु खेतीपाति गर्ने झन्झटबाट मुक्त हुन शहर पसेपनि तरकारी खरिद गर्नुपर्ने झन्झटबाट मुक्त हुन सकेनन् । बजारिया तरकारीको शुद्धतामा शंका लागिरहँदा आफूले उब्जाएकोजस्तो नहुने भएपछि यसैको प्रतिफलस्वरुप जग्गा नभए पनि उनीहरुले घरैमा गमला खेती गर्न थालेका हुन् । अहिले अधिकांश गृहणीहरु जमिन नभए पनि घरको कौशी अथवा छेउछाउ गमलामा तरकारी खेती गरेर तरकारी आपूर्ति गरिरहेको पाइन्छ । गमला खेतीको विस्तारले तरकारीको खर्च बचत भएको देखिन्छ । यसबाट न्यून आय भएका ब्यक्तिहरु लाभान्वित भएका छन् भने अर्गानिक तरकारी उत्पादनमा विकास भएको छ । तरकारीको लागि बजार धाउने प्रचलन पनि हराउँदै गएको पाइन्छ ।

आजको आवश्यकता
‘आवश्यकता नै अविष्कारको जननी हो’ भनेझैं ढिलो चाँडो यो प्रबिधि सबैले अँगाल्नै पर्ने देखिन्छ । घरमा फुलको बिरुवाको आफ्नै महत्व छ । शहरमा हात छिराउने ठाउँ छैन कहाँ खेती ? आफैले फलाएर खान मन लाग्छ त्यही भएर अन्त्यमा यही खेतीप्रति संलग्न हुनै पर्छ ।
शहरमा मात्र होइन गाउँमा पनि फाईदा यस्ता छन्
– हरियो सागपातमा प्रशस्त भिटामिन तत्व प्राप्त हुने भएकाले यसलाई गमलामा सजिलै उमार्न सकिन्छ ।
– मोबाईल एपमार्फत कुन बालीलाई कसरी कति बेला लगाउने सम्पूर्ण जानकारी प्राप्त हुने हुँदा सजिलो छ ।
– काम गर्दा शारीरिक स्फुर्ति पैदा हुन्छ ।
– आफ्नै हात र आँखाको सामुन्ने उत्पादन गरिएको हुँदा शुद्धता र पौष्टिकतामा पूर्ण ग्यारेन्टी ।
– बेमौसमीभन्दा मौसमी तरकारी उत्पादनमा जोड ।
– खर्च कम, लागत कममा भरपूर अग्र्यानिक तरकारी , फलफुलको उपभोगले स्वास्थ्यमा सुधार ।
–अधिक तरकारी उत्पादन गरे बिक्री गरेर आर्थिक लाभ ।
–तरकारी आपूर्तिको झन्झटबाट मुक्त ।
– एक पटक माटो मिश्रण गरेपछि छिटो–छिटो रिसाईकल गर्नु नपर्ने ।
गमला खेतीका बारेमा के भन्छन् कृषक ?
प्रकाश बराल
गमला खेती कृषक
बिर्तामोड १०
तरकारी बाली धेरै क्षेत्रबाट प्रभावित छ । खेतीपातीको प्रबिधि नसिक्ने हो भने यो क्षेत्रबाट रोजगारी सृजना गर्न गाह्रो छ । सरकारले पनि गमला खेतीलाई अन्य खेती सरह प्राथमिकतामा राखेर प्रबद्र्धन गर्नु पर्ने हुन्छ । यो क्षेत्रमा पनि लगानी गर्नु पर्छ । यसमा कम गर्ने प्राबिधिकहरु तयार गर्नु पर्छ । अबको जमाना मोवाईल एप हेरेर खेती गर्ने युग हो । आवश्यक क्षमता हेरेर सरकारले गमला खेतीलाई प्रोत्साहन र लगानी गर्न चुक्नु हुँदैन । यसबाट भरपूर फाईदा लिन सकिन्छ ।
लक्ष्मीप्रसाद भट्टराई
गमला खेती कृषक
बिर्तामोड –५

गृहणीहरुको रुचीको बिषय पनि गमला खेती बन्न सक्छ । कृषिमा ठूला ठूला प्रोजेक्ट संचालनमा जसरी जोड दिईदैछ, गमला खेतीलाई वास्ता गरिएको छैन । गमला खेतीलाई प्रोत्साहन गर्ने हो भने गृहणीहरुको सोचमा कृषिकर्म जोड्न सकिन्छ । आत्मनिर्भरताको एउटा पाटो बन्न सक्छन् गृहणी तरकारीमा । कृषि देशको मेरुदण्ड हो । गमला खेती प्रणालीलाई नियम कानून नै बनाएर लैजाने हो भने कृषि पेशा सम्मानित पेशा बनेर अगाडी बढ्न मद्धत मिल्नेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्