कुमरखोद, फागुन २ । झापा गाउँपालिका वडा नं १ को नवनिर्मित कार्यालय भवनको सोमवार उदघाटन भएको छ ।

झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले वडा कार्यालय भवनको उद्घाटन गरेका हुन् । यसअघि १ र २ नं. वडा कार्यालयहरुले एकै ठाउँबाट सेवाग्राहीहरुलाई सेवा दिँदै आएका थिए ।
वडा कार्यालय भवन निर्माण गर्न एस.जे.फोटी विल्डर्स प्रा.लि झापाले ३३ लाख ६७ हजार ७९४ रुपैयाँमा ठेक्का पाएको थियो । १५५४ वर्गफिटमा पैmलिएको वडा कार्यालयको भवन एकतले र ६ कोठाको रहेको छ । झापा गाउँपालिकाको ७ वटा वडा कार्यालयहरुको भवन बनिसकेको र केहि वडा कार्यालय एक–दुई दिन भित्रमै उद्घाटन गरिने अध्यक्ष शाहले बताए । त्यसैगरी आईतवार वडा नं १ र ४ मा आधारभूत स्वास्थ्य केन्द्रको समेत उद्घाटन गरिएको थियो ।

वडा कार्यालय भवन वनाउनका लागि सितुमारी निवासी न्यौपाने परिवारले लाखौ रुपैयाँ पर्ने जग्गा प्रदान गरेका थिए । स्वर्गीय वेदनिधी न्यौपानेका श्रीमती वेदमाया न्यौपाने, छोराहरु दुर्गा न्यौपाने र खगेन्द्र न्यौपानेले वडा कार्यालय भवन बनाउनका लागि २ कठ्ठा जग्गा दान दिएका थिए । जग्गादाता न्यौपाने परिवारलाई झापा गाउँपालिकाले सम्मान गर्ने कार्यक्रम रहेकोमा न्यौपाने परिवारमा मरिमराउका कारण उपस्थित हुन सकेनन् ।

वडा नं. १ का वडाध्यक्ष राजकुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि झापा गाउँपालिका अध्यक्ष शाह रहेका थिए भने कार्यक्रममा विशिष्ट अतिथि उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी , प्रमुख प्रशासकीय अधिकृत खेमराज थापा , वडाध्यक्ष नेत्र उप्रेती , कुमार गणेश , प्रभुनारायण यादव , माधव पोख्रेललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा वडा सचिव नारायण चम्लागाई , सशस्त्र वेस क्याम्प प्रमुख सचिन प्रधान , ईलाका प्रहरी प्रमुख रत्नबहादुर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन पशुपतिलाल गणेशले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्