भद्रपुर, फागुन ३ । प्रदेश सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री ओमप्रकाश सरावगीले आफूले प्रदेश नं १ का जनताको मन जित्नेगरी काम गर्ने बताएका छन् ।

एकल महिला झापालगायतका विभिन्न आधा दर्जन संस्थाहरुद्वारा झापाको भद्रपुर १० स्थित चन्द्रगढीमा रहेको एकल महिला छहारीमा मंगलवार आयोजित बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री सरावगीले आफूले मन्त्रालय सम्हाल्नुभन्दा अघिल्लो सरकारले मन्त्रालयको सम्पूर्ण वजेट रित्याइसकेको बताउँदै पहिले काम गर्न बजेटको स्रोत जुटाउन पहल गर्ने त्यसपश्चात् मात्र जनताको बिश्वास जित्नेगरी काम गर्ने योजना रहेको सुनाए ।
उनले आफूले २०२१ सालदेखि सक्रिय राजनीति गरेको बताउँदै उक्त अबधिमा थुप्रै चुनौतीहरुको सामना गर्नुपरेको अनुभव सुनाए ।
मन्त्री सरावगीले आफूले ७७ बर्ष उमेर पुरा गरिसकेको बताउँदै आफूले जहिले पनि काम गर्दा जनताकै लागि गर्ने र जनताकै पक्षमा रहिरहने भएकाले मन्त्री हुँदाको बेला काम गर्दा हुने कमीकमजोरीलाई औल्याई सदैव आफूलाई खबरदारी गर्न समेत आग्रह गरे ।
मन्त्रालय सम्हालेको आफनो पहिलो अनुभव भए पनि जनताको पक्षमा बुद्धि र विवेकले भ्याएसम्म अहोरात्र खटेर काम गर्ने उनको भनाई छ ।
उनले मन्त्रालयप्रतिको आफ्नो पहिलो अनुभव र जिम्मेवारी रहेको धारणा राखे । एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारीको अध्यक्षता तथा सेवानिवृत कर्मचारी समाज झापाका अध्यक्ष धनप्रसाद शिवाकोटीको संचालनमा सम्पन्न कार्यक्रममा समाजका सचिव चेतनाथ भट्टराई , चन्द्रगढी सेवा समाज अध्यक्ष कमल अधिकारी , एबिसी झापा अध्यक्ष कन्चना ढकाल ,साना हातहरु नेपाल भद्रपुर शाखा अध्यक्ष जगत वाग्ले ,सत्मिलन महिला समूह भद्रपुरकी अध्यक्ष यशोदा कोईरालालगायतले मन्त्री सरावगीलाई खादा र फुलमालाले सम्मान गर्दै कार्यकाल सफलताको शुभकामना दिएका थिए ।