झापा , फागुन ४ । एमसिसी संझौता संसदमा टेबुल गर्न नहुने माग राखेर बन्द गराउन खोज्ने चारजना बन्दकर्ता झापामा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एकजना र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका तीनजना रहेका छन् । पूर्व पश्चिम राजमार्गमा टायर बालेर बन्द गराउन खोज्ने उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।
कनकाईको दुर्गापुरबाट वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका तीनजना र काँकरभिट्टाको काली खोलाबाट विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एकजना कार्यकर्ता पक्राउ परेको उनले जानकारी दिए । काली खोलाबाट विप्लवका दुईजना कार्यकर्ता पक्राउ परेकोमा एकजना विरामी भएकाले छोडिएको डिएसपी पाठकले जानकारी दिए । झापामा बन्दको खासै प्रभाव परेको छैन ।
एमसिसी संझौता संसदमा टेबुल गर्न नहुने माग राखेर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी केन्द्र समाजवादीले आज बन्द आयोजना गरेका हुन् ।