झापा , फागुन ५ । अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी सम्झौतामा सहमति खोज्न आज सत्ता गठबन्धनमा निर्णायक वार्ता हुँदैछ ।

एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धनमा मतभेद छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जुनसुकै अवस्थामा पनि एमसीसी संसदमा लैजाने पक्षमा छन्। तर, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको उपेन्द्र यादव पक्ष यथास्थितिमा एमसीसी संसदमा टेबल गर्न नहुने पक्षमा उभिएका छन् । नेपाली कांग्रेसले भने एमसीसी सम्झौता पारित गर्नु पर्ने स्पष्ट नीति लिएको छ ।

प्रमुख प्रतिपक्षी दल एमाले भने पर्ख र हेरको अवस्थामा छ । माओवादी केन्द्रले प्रधानमन्त्री देउवा एक्लै अघि बढे सरकारबाट बाहिरिने चेतावनी दिइसकेको छ । हिजो माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आग्रहमा प्रधानमन्त्री देउवाले आज गठबन्धनको निर्णायक बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री देउवा हिजो नै संसद् बैठकमा एमसीसी टेबल गर्ने पक्षमा थिए । तर, सत्तारुढ दलहरूबीच सहमति नभएपछि हिजो एमसीसी संसदमा टेबल हुन सकेन । संसद्को अर्को बैठक भोलि बस्दै छ । भोलि जसरी पनि एमसीसी संसदमा टेबल गर्नेमा प्रधानमन्त्री देउवा दृढ छन् ।

स्थानीय तहको चुनाव नजिकिँदै गएकाले कांग्रेस बाहेकका शीर्ष दलले एमसीसीलाई राजनीतिक अस्त्रको रुपमा लिएका छन् । एमसीसीलाई नै चुनावी एजेन्डा बनाउने उनीहरुको दाउपेच छ । माओवादी केन्द्र र एकीकृत समाजवादीलाई एमसीसी संसदबाट पारित गर्दा चुनावमा असर पर्ने भय छ।

एमाले पनि एमसीसीबारे पर्ख र हेरको अवस्थामा बसेको छ । यसले गर्दा एमसीसी पारित हुने नहुने अन्योल बढ्दै गएको छ । अमेरिकाले एमसीसी सम्झौतामा परिमार्जन हुन नसक्ने र आउँदो १६ गतेसम्म पारित नभए सम्झौता रद्द हुने ‘अल्टिमेटम’ दिएपछि प्रधानमन्त्री देउवा दबाबमा परेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्