झापा , फागुन ६ । सरकारी अस्पतालका रूपमा विकास हुँदै आएको दमक अस्पतालमा अब नसर्ने रोगको उपचारका लागि नयाँ कार्यक्रम विस्तार गरिएको छ।

अस्पतालका अध्यक्षसमेत रहेकी नगरपालिका उपप्रमुख गीता अधिकारीले नसर्ने रोगबारे स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थसँग नगरपालिकाले सम्झौता गरेको जानकारी दिइन्। बिहीबार नगरप्रमुख रोमनाथ ओली, उपप्रमुख अधिकारी र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका तर्फबाट अध्यक्ष प्राडा भगवान् कोइरालाबीच त्यस विषयमा सम्झौता भएको थियो । उक्त कार्यक्रमअन्तर्गत कार्डियो (मुटु)‚ मधुमेह, सिओपिडी र पाठेघरको मुख तथा स्तन क्यान्सर पहिचान गरी स्थानीयस्तरमै उपचार गरिने जानकारी दिइयो । यहाँ उपचार सम्भव नभएका बिरामीलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिफारिस गरी पठाइने बताइएको छ । धरानमा यहाँबाट पठाइएका बिरामीका लागि सहयोग गर्न छुट्टै हेल्पडेस्क स्थापना गर्न अस्पतालका सम्बन्धित व्यवस्थापन पक्षसँग परामर्श गरी सहकार्य गर्न सकिने प्रतिष्ठानका प्राडा सञ्जीव शर्माले जानकारी दिए । सम्झौतामा सेवा सञ्चालनका लागि दुवै पक्ष आवश्यक सहकार्य गरेर काम गर्न तयार हुने, आवश्यकता र उपयोगिताका आधारमा यससँग सम्बन्धित सबै सरोकारवालाले काम गर्ने र गराउने, कार्यक्रम कार्यान्वयनका लागि आवश्यक पर्ने नीति बनाउन सरोकारवालाबीच सहकार्य गर्ने पनि उल्लेख छ ।

सम्झौता कार्यान्वयनका सम्बन्धमा स्पष्ट पार्दै नगरप्रमुख ओलीले अब यो सुविधा लिनका लागि दमकबाहिर रहेका निजी अस्पतालमा महँगो शुल्क खर्चिनुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गरे । त्यसका लागि आवश्यक जनशक्ति तथा उपकरण व्यवस्थापनमा केही चुनौती देखिए पनि दमक तथा आसपासका लागि यो कार्यक्रम महत्वपूणर् भएको उनको भनाइ थियो । नसर्ने रोग विस्तारै चुनौतीका रूपमा देखिँदै गएकाले समयमै त्यस्ता रोगको संक्रमण हुन नदिन स्वास्थ्य सावधानीसँगै सचेतना अपनाए तुरुन्त उपचार गर्न यस कार्यक्रमले सघाउ पुर्‍याउने नगरप्रमुख ओलीले बताए । यसका लागि आवश्यक जनशक्तिका लागि स्वास्थ्य मन्त्रालयबाटै दरबन्दी खडा गरेर पठाउन पनि माग गरिएको छ । यस विषयमा मन्त्रालयमा छलफल गरेर हुनसक्नेसम्मको सहयोग पुर्‍याउने मन्त्रालयका नसर्ने रोग कार्यक्रमका संयोजक डा. फडिन्द्र बरालले बताए । सम्झौतापछि स्वास्थ्य अधिकारीको टोलीले दमक अस्पतालमा निर्माणाधीन भवनसमेत अनुगमन गरेको थियो । अनुगमनपछि मुटुरोग विशेषज्ञसमेत रहेका डा. कोइरालाले भवन भव्य बन्दै गरेको र निर्माण सम्पन्नपछि यस क्षेत्रका नागरिकको स्वास्थ्यसँग जोडिएका अन्य सेवा पनि यहाँबाट सञ्चालन गर्न सकिने सुझाव दिएका थिए । यसैगरी बालबालिकाको स्वास्थ्य समस्या निदान गर्ने उद्देश्यले नगरपालिकाको समन्वयमा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थले दमकमा पनि छुट्टै अस्पताल सञ्चालन गर्ने गरी काम अघि बढाएको डा. कोइरालाले बताए । दमक-७ मा नेपाल रेडक्रस सोसाइटी उपशाखाको भवनमा बाल अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । उक्त अस्पताल निर्माणस्थलसमेत अनुगमन पछि छिटो सेवा सुरु गर्न आफूहरु तयार भएको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्