भद्रपुर, फागुन ७ । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन भद्रपुर इकाईको १५ औं वार्षिक सभा सम्पन्न भएको छ ।

इकाई समितिका अध्यक्ष लोकनाथ भट्टराईको अध्यक्षता तथा संविधानसभा सदस्य रविन कोइरालाको प्रमुख आतिथ्यमा उत्कृष्ट व्यवसायी तथा सन्तति सम्मान र इकाइको विगत–वर्तमान झल्कने स्मारिकाको विमोचन गरिएको हो ।
कार्यक्रममा शतप्रतिशत लिखत दर्ता गर्ने प्रकाश निरौलालाई वर्ष उत्कृष्ट व्यवसायी सम्मानबाट सम्मान गरिएको थियो । उत्कृष्ट सन्तति सम्मानबाट सरकारी विद्यालयतर्फ एसईई २०७७ मा उत्कृष्ट हुन सफल श्रृषा ढकाल र संस्थागत विद्यालयबाट आयुष्मा पोखरेललाई नगद दुई हजारसहित सम्मान गरिएको थियो । यस्तै जेष्ठ सदस्य सम्मानबाट मणिराम न्यौपाने, पूर्व अध्यक्ष पुरूषोत्तम अधिकारी र उत्कृष्ट सञ्चालक सदस्य मुरारी न्यौपानेलाई सम्मान गरिएको थियो ।
उपाध्यक्ष निरोज पोखरेलले स्वागत गरेको कार्यक्रममा समालोचक होम सुवेदीले स्मारिकाको टिप्पणी गरेका थिए भने सञ्चालन सचिव लावण्यकुमार पोखरेलले गरेका थिए ।