बिर्तामोड, फागुन ८ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल चिन र अमेरिका कुनै पनि राष्ट्रको पक्षमा नउभिने स्पष्ट पार्दै सबै देशको लगानीलाई स्वागत गर्ने बताएका छन् ।


सि.के. चिन्तन प्रतिष्ठान झापाको आयोजनामा सि.के. प्रसाईंको २८ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता शर्माले सैन्य रणनीति बाहेकका सबै मुलुकको सहयोग स्वीकार गर्ने स्पष्ट पारे ।

काँग्रेसले सरकार हुँदा पनि नहुँदा पनि एमसीसीबारे स्पष्ट धारणा राख्दै आएको बताउँदै शर्माले एमसीसीबारे नबुझी विरोधमा उत्रिएर उग्रराष्ट्रवाद प्रदर्शन नगर्न समेत सम्बन्धित सबैमा आग्रह गरे ।‘बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा निवेदन हालेर एमसीसीको प्रक्रिया अघि बढेको हो’–शर्माले भने–‘प्रक्रिया अघि बढाउँदा भिम रावल र नारायणकाजी श्रेष्ठहरु पनि सरकारमा हुनुहुन्थ्यो । अहिले त्यसको विरोध किन ? रावल र श्रेष्ठलाई म चुनौती दिन चाहन्छु, तपाईहरु सरकारमा हुँदा प्रक्रिया अघि नबढेको भए म पद त्याग्न तयार छु । तपाईहरु तयार हुनुहुन्छ ?’
‘एमसीसीलाई अहिले राष्ट्रघातको रुपमा हेरिएको छ तर यो सत्य होइन, अबको २० बर्षपछि राष्ट्रिय आम्दानीको दर्विलो स्रोत हुन्छ’– शर्माले भने–‘एमसीसीको सहयोगबाट विजुली उत्पादन र ट्रान्समिसन लाइन बन्ने हो । ट्रान्समिसन लाइनबाट भारतलाई बिजुली बेच्ने हो । तसर्थ भारतको समर्थन खोजिएको हो ।’ आफ्नो जग्गामा घर बनाउँदा समेत छिमेकीको स्वीकृति चाहिने भन्दै उनले एमसीसीबाट हुने विकासमा पनि सोही नीति लागु हुने भनाई राखे ।


अन्तर्राष्ट्रिय सन्धि सम्झौता निश्चित फरम्याट अनुसार हुने उल्लेख गर्दै नेता शर्माले एमसीसी पनि सोही फरम्याट अनुसार नै भएको उल्लेख गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्दा पनि अन्तर्राष्ट्रिय हस्तक्षेप बढ्छ भनेर तीब्र विरोध भएको स्मरण गर्दै अहिले उक्त विमानस्थलको प्रयोग गरेर लाखौं मानिसहरु आवतजावत गरिरहेको र यसका कारण कुनै हस्तक्षेप नभएको उनको भनाई थियो ।
जनसहभागिताबाट बनेको संविधान र संविधानले अवलम्बन गरेको संवैधानिक संस्कार पालना गर्ने कि नगर्ने ? भन्ने मूल प्रश्न अहिले उठेको बताउँदै उनले देशको समृद्धि, विकास र समुन्नतिका लागि सि.के. प्रसाईको शालिनता र सिद्धान्तप्रतिको निष्ठालाई अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

काँग्रेसका पूर्व सभापति, केन्द्रीय समितिका पूर्व प्रवक्ता एवं पूर्व केन्द्रीय सदस्य समेत रहेका सि.के.प्रसाईको २०५० सालमा निधन भएको थियो । प्रजातान्त्रिक समाजवाद, वाक एवं अभिब्यक्ति स्वतन्त्रताका लागि जीवनभर संघर्ष गरेका सि.के. प्रसाईंले पञ्चायती शासनकालमा लामो समय निर्वासनको सजाय भोग्नुपरेको थियो भने सर्वस्वहरणमा समेत परेका थिए ।
वि.पी.को सान्निध्यमा रहेर राजनीति गरेका सि.के. सिद्धान्त र निष्ठाप्रति अडिग थिए भने वि.पी.ले अवलम्बन गरेको प्रजातान्त्रिक समाजवादको आधिकारिक ब्याख्याताका रुपमा समेत उनलाई लिइन्थ्यो । समाजवादी विचारकको रुपमा रहेका सि.के.ले आफ्नो जीवनकालमा लेखेका विचारहरुलाई समेटेर आजको सरल राजनीति र सि.के.का विचारहरु नामक कृति प्रकाशन भएका छन् ।

काँग्रेसका महामन्त्री शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सि.के.का समकालीन राजनीतिज्ञ एवं नेपाली काँग्रेसका पूर्व सभापति पूर्णानन्द शर्मालाई सम्मान गरिएको थियो ।सम्मानित ब्यक्तिलाई प्रमुख अतिथि शर्मा, प्रतिष्ठानका संरक्षक विवेककेशरी प्रसाई, संगिता प्रसाई, सभापति टिकाप्रसाद प्रसाईंले सम्मानपत्र र दोसल्ला प्रदान गरेका थिए ।
सोही कार्यक्रमका बीच सि.के. चिन्तन प्रतिष्ठानले शैक्षिक क्षेत्रमा प्रारम्भ गरेको सहयोग यस बर्ष अर्जुनधारा नगरपालिका–४ स्थित लक्ष्मी प्राविलाई हस्तान्तरण गरिएको थियो । विद्यालयका प्रधानाध्यापक डम्बरबहादुर डाँगी, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोविन्द श्रेष्ठलाई सि.के. प्रसाईका नाति अनुदान प्रसाईले ५१ हजार राशिको सहयोग प्रदान गरे ।
कार्यक्रममा पूर्व राज्यमन्त्री एवं काँग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईले आफू प्रसाई परिवारकै भएपनि सि.के.को राजनीतिक योगदानका बारे पश्चिम नेपालमा पुग्दा ‘सि.के.को विचार पढेर कांग्रेसमा लाग्यौं’ भन्ने सुनेपछि थप प्रभावित भएको बताइन् ।

कार्यक्रममा पूर्वमन्त्री एवं काँग्रेस नेता दीपकप्रकाश बाँस्कोटाले वि.पी.कोइरालापछि सि.के. प्रसाईले प्रजातान्त्रिक समाजवादी विचारको आधिकारिक रुपमै ब्याख्या गरेको बताए ।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य सुशिला ढकालले सि.के.को जीवनशैली, विचार र सिद्धान्तप्रतिको निष्ठाबाटै आफू प्रभावित भएको धारणा राखिन् ।
नेपाली काँग्रेस झापाका सभापति देउकुमार थेबेले सि.के प्रसाईकै पालामा झापामा काँग्रेसको वैचारिक जग बलियो बनेको बताए ।

कार्यक्रममा विश्वनाथ घिमिरे स्मृति प्रतिष्ठानका अध्यक्ष राम कट्टेल, प्रतिष्ठानका पूर्व अध्यक्ष लोकराज ढकाललगायतले बोलेका थिए ।
सि.के. चिन्तन प्रतिष्ठानका सभापति टिकाप्रसाद प्रसाईंको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष कुमार भट्टराई र सञ्चालन सचिव इन्दु पूर्वेलीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्