झापा , फागुन ९ । कोरोना संक्रमणको रेडजोनमा परेको झापामा संक्रमण दर निकै घटेको छ ।

संक्रमणदर र मृत्युदर निकै घटेपछि जिल्लामा कोरोनाको जोखिम हालका लागि टरेको छ । तेस्रो लहरको शुरुवातमा ओमिक्रोन भेरियन्टको उच्च जोखिममा रहेको झापामा आइतबार एकजना मात्र संक्रमित थपिएका छन् । फागुन महिनाको तथ्यांकलाई हेर्दा न्यून मात्रामा संक्रमणदर देखिएको हो । फागुन १ गते १० जना , २ गते १९ जना , ३ गते ९ जना , ४ गते १० जना , ५ गते १० जना , ६ गते ७ जना , ७ गते ५ जनामा संक्रमण पुष्टि भएको थियो । यसरी हेर्दा फागुनको शुरुदेखि ८ गतेसम्म मात्र ७१ जना संक्रमित भएका छन् । जुन घट्दो दरमा रहेको छ । करीव एक महिनाअघि प्रत्येक दिन तेहोरो अंकमा जिल्लामा संक्रमित थपिने गरेका थिए ।

कोरोनाको पहिलो , दोस्रो र तेस्रो लहरमा झापा रेडजोनमा परेको थियो । पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लालाई रेडजोन घोषणा गर्ने गरिन्छ । तर, अहिले झापामा १०७ जना मात्र सक्रिय संक्रमित रहेका छन् । त्यसमध्ये दुईजना अस्पतालमा भर्ना भएका छन् । पुषको अन्तिम सातादेखि नेपालमा कोरोनाको तेस्रो लहर फैलिएको थियो । पुष २५ देखि हालसम्म तेस्रो लहरको संक्रमणबाट जिल्लामा १५ जनाको मृत्यु भएको छ भने शुरुदेखि हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुने मृतकको संख्या ६७२ पुगेको छ ।

कोरोना खोपको औसत दर बढ्दै
झापामा कोरोना संक्रमणविरुद्धको खोपको औसत दर बढ्दै गएको छ । जिल्लाका १८ वर्ष माथिका ९१.२ प्रतिशतले पूरा डोज लगाएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । त्यस्तै सोही उमेर समूहमा पहिलो डोज ७९.६ प्रतिशत र बुस्टर डोज ३.६ प्रतिशतले लगाएका छन् । त्यस्तै १२ वर्ष माथि ७९.६ प्रतिशतले पूरा डोज लगाएका छन् । सोही उमेर समूहमा पहिलो डोज ८४.७ प्रतिशत र बुस्टर डोज ३.१ प्रतिशतले लगाएको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ ।

कोरोना संक्रमणको जोखिम पूर्णरुपमा नहटेपनि संक्रमणदर न्यून रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौंलागाईले बताए । उनले खोपको मात्राले जोखिम न्यूनीकरण गरेको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्