भद्रपुर , फागुन ११ । राष्ट्रिय जनमुक्ति पार्टीका उपाध्यक्ष बलदीप राईले अमेरिकी सहयोग परियोजना (एमसीसी) मुलुक र जनताको हित विपरीत भएको सन्देश झापावासीलाई दिएका छन् ।

अत्याधिक आदिवासी जनजाति, भूमिपुत्र मूलबासीको सघन थलो भएको झापामा एमसीसी के हो ? यसले पार्ने असरबारे अवगत नगराइएको अवस्थामा उपाध्यक्ष राईले एमसीसी पारित गरी लागू गरे नेपालको मौलिक अस्तित्वमा अमेरिकाको राज हुने बताए ।
‘जनता जागौं’ अभियानअन्तर्गत बुधबार पार्टीले आयोजना गरेको कोणसभालाई सम्बोधन गर्दै बौद्धिक व्यक्तित्व समेत रहेका उपाध्यक्ष राईले एमसीसी परियोजना आफैमा विवादास्पद र भू–राजनीतिक खेल मैदान हुने जसले मौलिक अधिकार र पहिचान गुम्ने भएको हुँदा पास नगर्न ठूला दल कांग्रेस र एमालेलाई आग्रह गरे ।
आफूहरुको सुझाव स्वीकार्न सकेनन् भने आउँदो चुनावमा कांग्रेस र एमालेलाई प्रश्न गर्दै ती दलहरुसँग सावधानी अपनाउनु पर्ने दिन आएको बताए ।
कोणसभामा उपाध्यक्ष राईले देशका ठूला दलका केही नेताहरुको क्षणिक लोभका कारण एमसीसी लागू गराए सार्वभौम सम्पन्न राज्यको कुनै अस्तित्व नरहने र मुलुक उपनिवेशको शिकार हुने बताए । उनले सहयोगको बहानामा ल्याएको एमसीसी अमेरिकाको विस्तारवाद नीति भएको बताए ।
‘एकले अर्कालाई सहयोग गर्न पाइन्छ तर, सहयोगको बहानामा स्वाधिनतामाथि आँच आउने काम भने गर्नुहुन्न’ उनले अगाडि भने, ‘सहयोग नै गर्नुछ, नेपाललाई समृद्ध नै बनाउनु छ भने यहाँ उत्पादित वस्तुको बजारीकरण गर्ने अवसर दिनुपर्छ ।’
चन्द्रगढी लेखनाथ चोकबाट सुरु गरिएको र्याली महेन्द्रपार्क हुँदै जिल्ला प्रशासन कार्यालय परिसरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
जिल्ला अध्यक्ष भवानीविक्रम सेलिङको सभापतित्वमा भएको कोणसभामा महिला नेतृ मीना पन्धाक, शान्तिदेवी राई, प्रदेश अध्यक्ष पर्शुराम मगर, महिला मोर्चाकी केन्द्रीय सचिव रीना मगर, प्रदेश सदस्य दिलीप राई, जिल्ला सचिव पदम कन्दङ्वा, भुपाल राना, राज खम्बू, मानु साम्मेखाम, भद्रपुरका युवा नेता सन्तोष लिम्बूलगायतका नेताहरुको आतिथ्य रहेको थियो ।
जिल्ला अध्यक्ष सेलिङ, प्रदेश अध्यक्ष पर्शुराम मगरलगायतले प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापनपत्रमा एमसीसी परियोजना लागू भए स्वाधिन नेपाल र नेपालीहरुको स्वाभिमानमाथि आँच आउने भएकाले सम्झौता अबिलम्ब खारेज गरियोस् भनिएको छ ।