झापा, फागुन ११ । बिर्तामोड नगरपालिकाले ३ हजार ४ सय ६१ जना विद्यार्थीलाई पोशाक वितरण गरेको छ ।

बिर्तामोड नगरक्षेत्रभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत नर्सरीदेखि कक्षा ५ सम्मका छात्रछात्रालाई विद्यालय पोशाक वितरण गरिएको हो ।

आर्थिक अवस्था कमजोर भएका र विपन्न परिवारका विद्यार्थीहरुको लागि पोशाक वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरभित्रका १७ वटा सामुदायिक विद्यालयमा पुगेर पोशाक वितरण गरिएको हो । फागुन ४ गते बुधबारदेखि शुरु गरिएको पोशाक वितरण अभियानमा नगरप्रमुख ध्रुवकुमार शिवाकोटी,उपप्रुमख पवित्रा महतारा प्रसाई,शिक्षा शाखा प्रमुख तिलचन भण्डारीलगायतको टोली खटिएको थियो । सबै विद्यालयमा पुगेर जनप्रतिनिधि,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी,अभिभावक,प्रधानाध्यापक र शिक्षकको उपस्थितिमा पोशाक वितरण गरिएको थियो ।

नगरप्रमुख शिवाकोटीले सामुदायिक विद्यालयमा पुगेर अनुगमन गर्दा अभिभावकहरुले ड्रेस किन्न नसकेका कारण धेरै बालबालिका विद्यालय जानबाट बञ्चित भईरहेको पाइएकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै समावेश गरेर पोशाक वितरण गरिएको बताए ।

यस्तै उपप्रमुख प्रसाईले पोशाक वितरणले अभिभावकहरुलाई थोरै भएपनि राहत मिलेको बताइन् । उनले सामुदायिक विद्यालयहरुको पढाइको स्तरलाई गति दिनको लागि विद्यालय व्यवस्थापन समिति,अभिभावक,शिक्षकलगायत सबैको साथ सहयोग हुनु पर्नेमा जोड दिइन् ।

पोशाक वितरण कार्यक्रमले अभिभावक,शिक्षक र विद्यार्थीहरुमा हौसला मिलेको छ । लक्ष्मी आधारभूत विद्यालय बिर्तामोड ७ का शिक्षक केशव उप्रेतीले प्रविधिमैत्री कक्षा व्यवस्थापनका लागि समेत बिर्तामोड नगरपालिको जोड दिँदै आएको भन्दै प्रशंसा गरे । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा साथीको जस्तो पोशाक नहुँदा हिनतावोधको समस्या हुने गरेको भन्दै उनले पोशाक वितरण कार्य सह्रानीय रहेको बताए । यस्तै बिर्तामोड ६ बुट्टाबारीमा रहेको सरस्वती माध्यमिक विद्यालयका शिक्षक तोया काफ्लेले पनि नगरपालिकाले राम्रो कार्यको थालनी गरेको प्रतिक्रिया दिए । यस कार्यले सामुदायिक विद्यालयप्रतिको आकर्षण बढ्ने शिक्षक काफ्लेको भनाई छ ।

बिर्तामोड नगरपालिका क्षेत्रभित्र रहेका अझै ३ वटा विद्यालयमा पोशाक वितरण गर्न बाँकी छ । बिर्तामोड २ मा रहेको साङ्गवेद संस्कृत माध्यमिक विद्यालय,बिर्तामोड ३को मदरसा तालेमुल कुरान र बिर्तामोड ६मा रहेको हरिहर आश्रमका विद्यार्थीहरुलाई पोशाक वितरण गर्न बाँकी रहेको हो । उक्त विद्यालयमा पनि चाँडै पोशाक वितरण गरिने नगरका शिक्षा शाखा प्रमुख भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्