पथरीशनिश्चरे , फागुन १२ । मोरङको सुनबर्षी नगरपालिका –२ स्थित अमरदहमा हुन गैरहेको अमरदह ढल्केजोवन अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ ।

यही फागुन १४ गते शनिवारदेखि २४ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा नेपाल, भारत र भुटानका गरी १२ टिमका ३० वर्ष माथिका खेलाडीहरूले भाग लिने छन्।
‘अमरदह ढल्केजोवन युवा क्लबको ज्ञान, एकता मित्रता सदभाव सुनबर्षीको पहिंचान’ भन्ने मुल नाराका साथ सुनबर्षी नगरको शानको रुपमा हेरिएको उक्त चौथो अन्तर्राष्ट्रिय आमन्त्रण अमरदह ढल्केजोवन गोल्डकपको तयारी पुरा भएको अध्यक्ष प्रताप तामाङले बताए । विरेन्द्र सार्वजनिक माविको खेलमैदानमा हुने उक्त प्रतियोगिता सफलताका साथ सम्पन्न गर्नका लागि अहिलेसम्म रंगशाला व्यवस्थापन र स्वास्थ्य सावधानी अपनाउँदै दर्शकको लागि व्यवस्थित प्यारापिट निर्माण गरी सकिएको छ भने खानेबस्ने सहितको खेलाडीहरूको लागि आवास तथा यातायात सुविधा , सुरक्षा लगायतका विभिन्न व्यवस्था पूर्ण रूपमा मिलाईएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि सबै क्षेत्रबाट सहयोग गर्ने क्रम जारी रहेको पनि अध्यक्ष तामाङले बताए।

प्रतियोगितामा भुटानको फ्रेन्डस् भेट्रान फुटबल क्लव तथा भारतको दार्जिलिङ भेट्रान फुटबल क्लब र सिक्किम भेट्रान फुटबल क्लबले भाग लिने छन् भने नेपालका नेपाल आर्मी क्लब, सशस्त्र प्रहरी बल( एपीएफ) , पोखरा–११ , बुटवल भेट्रान क्लब , हेटौडा भेट्रान क्लब, सुनसरी भेट्रान क्लब , काठमाडौंको लक्षुमण भेट्रान क्लब , झापा भेट्रान फुटबल क्लब तथा आयोजक मोरङ भेट्रान फुटबल क्लबले सहभागिता जनाउने अध्यक्ष तामाङले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमलाई ५ लाख ११ हजार रुपैयाँ तथा द्वितीय हुने टिमलाई २ लाख ५१ हजार पुरस्कार प्रदान गरिने छ भने प्रतियोगितामा उत्कृष्ट खेलाडी , उत्कृष्ट रेफ्री , उत्कृष्ट गोलरक्षकलगायत विभिन्न विधामा समेत नगद , ट्रफी ,मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।