भद्रपुर, फागुन १२ । हिंसामा परेका महिला तथा बालबालिकाको एकद्वार उपचार केन्द्र भद्रपुरमा वार्षिक १७० जनाले सेवा लिएको पाइएको छ ।

लैङ्गिक हिंसापीडित सरोकार जिल्ला समन्वय समिति झापा मातहत रहेको मेची अस्पतालको विवरण अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा हिंसापीडित १७० ले निःशुल्क सेवा पाएका हुन् ।
मेची अस्पताल मातहतमा रहेको निःशुल्क उपचार केन्द्रमा हिंसापीडितहरूले शारीरिक तथा मानसिक उपचार सेवा लिने गरेका छन् । सो विवरण अनुसार १४ वर्ष मुनिका बालिकाको संख्या ५० प्रतिशत बढी रहेको छ । जसमा यौन हिंसापीडितको संख्या उल्लेख्य छ भने बाल विवाह, बहुविवाह, मानसिक हिंसालगायतका अपराधबाट पीडित रहने गरेका छन् ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने समितिको बैठकमा मेडिकल रेकर्डर मनोज पोखरेलले पेश गरेको विवरण अनुसार यस वर्षको माघ मसान्तसम्ममा ७१ जनाले सेवा लिएका छन् । हिंसापीडितको सूचीमा बिर्तामोड नगरपालिका, मेची नगरपालिका, भद्रपुर नगरपालिका र दमक नगरपालिका उच्च हिंसाको क्षेत्रमा देखिएका छन् ।

विभिन्न सरोकारवाला संघसंस्थाले उद्धार गरे पनि हिंसापीडितको उपचारका लागि नेपाल प्रहरीले अस्पतालसम्म ल्याइदिने गरेको विवरणमा उल्लेख छ । हिंसामा परेकाहरूको उपचारका लागि छुट्टै कक्षमार्फत अस्पतालमा उपचार सेवा प्रवाह गरिदै आएको समितिका सदस्य सचिव डा. टंकप्रसाद बाराकोटीले जानकारी दिए । उनका अनुसार मेची अस्पतालमा उपचार संभव नभए अन्यत्र लगेर पनि निःशुल्क उपचार गर्ने प्रबन्ध रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्