झापा , फागुन १३ । झापाको शिवसताक्षी १० स्थित दोमुखामा गएराति आगलागी हुँदा जलेर आमाछोरी घाइते भएका छन् ।

राति ११.३० बजे शिवसताक्षी १० दोमुखामा दोमुखा पर्यटन बोर्डले बनाएको १० कोठाको एकतले भवनमा बिजुली सर्ट भई अचानक आगलागी भएको थियो । सोही भवनमा भाडामा बस्नेहरु घाइते भएका हुन् । आगलागीबाट सोही घरमा होटल संचालन गर्ने शिवसताक्षी १० दोमुखा बस्ने हरि भण्डारी, जय थपलिया, किशोर पुङ्थेवा, डम्बर मगरको होटल र सोही भवनमा रहेको दोमुखा युवा क्लबको कार्यालय पूर्णरुपमा जले नष्ट भएको छ ।

आगलागीबाट हरि भण्डारीकी श्रीमती ४३ वर्षिया बालिका भण्डारी र छोरी १४ वर्षिया अस्मिता भण्डारी घाइते भएका हुन् । बालिकाको दाहिने हात र अस्मिताको अनुहार र हात जलेको छ । दुवैको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

सो आगलागी दमक नगरपालिका, कमल गाउँपालिका र बिर्तामोड नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा राति १.३५ बजे पूर्णरुपमा नियन्त्रणमा आएको र क्षतिको विवरण तत्काल नखुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्