बिर्तामोड, फागुन १५ । नेपाल आइस पाँचौँ झापा गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ ।

यही फागुन २१ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक झापा गोल्डकपले आइतबार खेल तालिका सार्वजनिक गरेको हो ।
आयोजकका अनुसार उद्घाटन खेल सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबबीच हुनेछ । हालै सम्पन्न ए डिभिजन लिगमा सातदोबाटो चौथो स्थानमा र जावलाखेल नवौँ स्थानमा रहेका थिए । त्यस्तै, दोस्रो खेल फागुन २२ गते नेपाल पुलिस क्लबविरुद्ध संकटा क्लबले खेल्नेछ । लिगमा पुलिस ११औँ स्थान र संकटा सातौँ स्थामा रहेका टिम हुन् ।

झापा गोल्डकपको तेस्रो खेल पहिलो खेलको विजेतासँग एपिएफ फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ । लिगमा एपिएफ आठौँ स्थानमा रहेको टोली हो । चौथो खेल दोस्रो दिनको विजेतासँग थ्री स्टार क्लबले खेल्नेछ । लिगमा थ्री स्टार छैटौँ स्थानमा रहेको थियो ।
प्रतियागिताअनुसार पाँचौँ खेल त्रिभुवन आर्मी फुटबल क्लबका विरुद्ध भारत दार्जिलिङको एम एफसीले खेल्नेछ । लिगमा आर्मी दोस्रो स्थानको टोली हो । झापा गोल्डकपमा छैटौँ खेल झापा ११ फुटबल क्लबले भारत सिक्किमको आरपी एफसीका विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेल फागुन २७ गते हुनेछ भने दोस्रो सेमिफाइनल खेल फागुन २८ गते हुनेछ । झापा गोल्डकपको फाइनल खेल फागुन ३० गते सोमबार हुनेछ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा हुने खेलका लागि करिब १० हजार दर्शक बस्न सक्नेगरी बाँसको प्यारापिट पनि निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ ।

पाँचौँ संस्करणको झापा गोल्डकपको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद छ लाख पाँच हजार रुपैयाँ प्राप्त गर्नेछ । गोल्डकप सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगिताको मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार र उच्च गोलकर्तालाई नगद २५ हजार प्रदान गरिनेछ । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद ९ हजार ९९९ रुपैयाँ दिइनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्